काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । आज बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।
यसअघि आजै बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका थिए । दोस्रो चरणको खोप अभियान अन्तर्गत सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकहरुलाई खोप लगाउन शुरु गरेको छ ।
योपनि पढौं
६५ वर्षमाथिका ज्येष्ठ नागरिकले आजदेखि कोरोना खोप लगाउने
काठमाण्डौ । सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप निस्शुल्क लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने भएको हो ।
खोपको उपलब्धता र जोखिमको आधारमा आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइने छ । दोस्रो चरणको खोप अभियानका लागि स्वास्थ्य मन्त्रालयले ६ हजार खोप केन्द्र तोकेको छ ।
यसअघि अस्पतालमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले हरेकदिन २ देखि ३ लाख जनालाई खोप दिने तयारी गरेको बताए ।
दोस्रो चरण सुरु भएको ११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइनेछ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अपाङ्गता भएकाहरुलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।






