बाँके, २९ भदौ । पश्चिम नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको पहुँच विस्तार गर्ने उद्देश्यसहित एथर नेपालले नेपालगञ्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। बसपार्क रोडमा स्थापना गरिएको नयाँ सेन्टरमार्फत ग्राहकले कम्पनीका नवीनतम इलेक्ट्रिक स्कुटरको प्रत्यक्ष अनुभव लिन, प्रविधि बुझ्न तथा परीक्षण सवारी गर्न सक्ने व्यवस्था गरिएको छ ।
यो विस्तारसँगै एथरको सञ्जाल काठमाडौँ, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान, विराटनगरसहित देशका प्रमुख सहरमा पुगेको कम्पनीले जनाएको छ । नेपालगञ्जस्थित सेन्टरमा एथर ४ सय ५० र एथर रिज्टा मोडेल उपलब्ध छन् । यहाँ ग्राहकले स्कुटरको विशेषता बुझ्ने, प्रडक्ट डेमोन्स्ट्रेशन हेर्ने र टेस्ट राइड गर्ने सुविधा पाउनेछन् ।
उद्घाटन कार्यक्रममा एथर नेपालका मार्केटिङ प्रमुख सलमान खानले नेपालगञ्जबाट पश्चिम नेपालका ग्राहकसम्म कम्पनीको विश्वस्तरीय विद्युतीय मोबिलिटी अनुभव पुर्याउन पाउँदा उत्साहित रहेको बताउनुभयो । उहाँले यो सेन्टर केवल बिक्री केन्द्र मात्र नभई प्रिमियम राइडिङ अनुभव, भरपर्दो चार्जिङ पूर्वाधार र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने केन्द्रका रूपमा विकास गरिने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार एथरका स्कुटरमा प्रयोगकर्ताको सहजतालाई ध्यानमा राखेर विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ । म्याजिक ट्वीस्ट थ्रोटलमार्फत हल्का उल्टो घुमाएर गति घटाउन सकिने सुविधा, लामो दूरीमा स्थिर गतिमा यात्रा गर्न सहयोग गर्ने स्टेडी क्रुजिङ प्रणाली तथा आवाजको माध्यमबाट स्कुटरसँग अन्तरक्रिया गर्न सकिने प्रविधि यसमा रहेका छन् ।
कम्पनीले ग्राहकको विश्वास अभिवृद्धिका लागि ‘एथर्स एइट७०’ ब्याट्री वारेन्टी पनि उपलब्ध गराएको जनाएको छ। हाल देशभर ५० भन्दा बढी फास्ट चार्जिङ स्थान र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा रहेको जानकारी दिइएको छ ।
नेपालगञ्ज सोरुमका सञ्चालक दीपेन्द्र विष्टले उद्घाटनको अवसरमा स्थानीय ग्राहकका लागि विशेष ‘ओपनिङ स्कीम’ सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो योजना आगामी ३ असोजसम्म लागू हुनेछ ।
यस योजनाअन्तर्गत नगद खरिद गर्ने ग्राहकले आठ वर्षको विस्तारित ब्याट्री वारेन्टी पाउनेछन् भने किस्ताबन्दी खरिदमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ। साथै साटासाट योजनामा थप रु। आठ हजारसम्मको मूल्याङ्कन लाभ प्रदान गरिने उहाँले बताउनुभयो ।
कम्पनीले नेपालगञ्जको नयाँ एक्सपेरियन्स सेन्टरले यस क्षेत्रका ग्राहकलाई एथरको प्रविधि, विश्वसनीय सेवा र चार्जिङ पूर्वाधार अझ नजिकबाट उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले सोरुम उद्घाटन गर्नुभएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री आदेश अग्रवाल, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीलगायत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।






