नेपालगञ्ज, २६ असारः गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव नमस्कार शाहले सरकारको लापरवाहीका कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउनुभएको छ । उहाँले बेलैमा प्रभावकारी उद्धार र उपचार हुन सकेको भए गणेश नेपालीको ज्यान जोगाउन सकिने दाबी गर्नुभयो ।
नेपालगञ्जको बीपी चोकमा आज आयोजित ‘न्यायका लागि ऐक्यबद्धता तथा श्रद्धाञ्जली सभा’लाई सम्बोधन गर्दै शाहले आत्मदाहको प्रयासपछि सम्बन्धित निकायले तत्काल प्रभावकारी रूपमा उद्धार र उपचारको व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले समयमा उपचार भएको भए गणेश नेपालीको ज्यान बचाउन सकिने बताउनुभयो ।
शाहले घटनाका क्रममा जलिरहेको व्यक्तिलाई तत्काल उद्धार गर्नुभन्दा जलेको मोटरसाइकल हटाउनतर्फ टोली केन्द्रित भएको भन्दै त्यसको घोर भर्त्सना गर्नुभयो । उहाँले यस्तो व्यवहारले मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गर्नुभयो ।
उहाँले युवामा बढ्दो बेरोजगारी, निराशा र असन्तुष्टिका कारण यस्ता दुःखद घटना निम्तिएको उल्लेख गर्दै वर्तमान सरकारले युवाको आशा र भरोसालाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो। रोजगारी र अवसरको अभावका कारण युवाहरू विदेशिने क्रम निरन्तर बढिरहेको उहाँको भनाइ थियो ।
गणेश नेपालीको घटनालाई वर्तमान सामाजिक अवस्थाको प्रतिनिधिमूलक घटनाका रूपमा उल्लेख गर्दै शाहले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै त्यसै उद्देश्यका साथ ‘न्यायका लागि ऐक्यबद्धता तथा श्रद्धाञ्जली सभा’ आयोजना गरिएको बताउनुभयो ।






