बाँके, २६ असाढः मनसुनजन्य विपद्बाट हुनसक्ने बाढी, डुबान र कटानको जोखिम न्यूनीकरणका लागि बाँकेमा आवश्यक पूर्वतयारी पूरा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा रहेको र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गरी आवश्यक तयारी सम्पन्न गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा उपलब्ध खोज तथा उद्धार सामग्री, जनशक्ति, तालिमप्राप्त सुरक्षाकर्मी तथा राहत सामग्रीको विवरण अद्यावधिक गर्दै आवश्यक व्यवस्थापन गरिएको छ । बाढी र डुबानलाई लक्षित गरी कृत्रिम अभ्यास ९मक ड्रिल० समेत सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
ूबाँकेको संवेदनशीलतालाई ध्यानमा राख्दै बाढी, डुबान र कटानलाई प्राथमिकतामा राखेर तयारी गरेका छौँ । ू प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो । उहाँले राप्ती नदीमा माछा मार्ने क्रममा टापुमा फसेका व्यक्तिहरूको हालै सफल उद्धार गरिएको उदाहरण दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय तह र समुदायलाई विपद् प्रतिकार्यका लागि परिचालन गरिएको बताउनुभयो ।
गत वर्ष विपद्का बेला उद्धार सामग्री अभाव भएको विषयमा उहाँले खोज तथा उद्धारका लागि आवश्यक सामग्री हाल पर्याप्त रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार मोटरबोट, रबरबोट, डोरी लगायतका सामग्री नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र ९डीईओसी० र स्थानीय तहसँग मौज्दात राखिएको छ । तत्काल राहत सामग्रीको आवश्यकता भने प्रभावित परिवारको सङ्ख्याअनुसार व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङले जिल्लाका डुबान र कटानको जोखिमयुक्त क्षेत्रको पहिचान गरी योजनामा समेटिएको जानकारी दिनुभयो । राप्ती सोनारी, नरैनापुरलगायत विगतदेखि प्रभावित क्षेत्रलाई केन्द्रमा राखेर तटबन्ध निर्माण, जोखिम न्यूनीकरण तथा पूर्वतयारीका काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले राजमार्ग र पुलपुलेसाको अवस्थाको समेत मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाइएको जनाउँदै जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम पूर्वानुमान र बाढीसम्बन्धी सूचनालाई समुदायसम्म तत्काल पुर्याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) मार्फत सूचना प्रवाहलाई प्रभावकारी बनाइएको छ । हालै सञ्चालनमा आएको टोल फ्री नम्बर १२३४ तथा स्थानीय तहको मोबाइल सञ्जालमार्फत समुदायलाई समयमै सतर्कता सन्देश पठाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।






