बाँके, ४ अषढः नेपालगन्जमा निर्माण गरिएको नेपालको सबैभन्दा ठूलो पम्प ट्र्याकमा राष्ट्रियस्तरको साइक्लिङ प्रतियोगिता ‘नेपालगन्ज पम्प ट्र्याक च्यालेन्ज २०२६’ आयोजना हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ कार्यालय र कोहलपुर नगरपालिकाको सहयोग तथा बाँके जिल्ला साइक्लिङ संघ र नेपालगन्ज साइक्लिङ क्लबको सहकार्यमा नेपालगन्ज बाइसिकलले असार ६ गते प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट राष्ट्रिय तथा उदीयमान खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । इलिट महिला तथा पुरुष, मास्टर पुरुष, जुनियर ए, जुनियर बी र किड्स समूह गरी विभिन्न विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
आज आयोजित पत्रकासम्मेलनमा नेपालगन्ज बाइसिकलका निर्देशक गगन थापाले प्रतियोगिताले नेपालगन्जलाई साइक्लिङ खेलको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पम्प ट्र्याक खेलप्रति युवाहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा खेल पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने बताउनुभयो ।
“पम्प ट्र्याक विशेष प्रकारका उचाइ ओरालो, घुमाउरा मोड तथा तरंगयुक्त संरचनासहित निर्माण गरिएको ट्र्याकमा खेलिने आधुनिक साइक्लिङ विधा हो ।ू उहाँले भन्नुभयो ।” उहाँले भन्नुभयो, “विश्वका विभिन्न मुलुकमा लोकप्रिय बन्दै गएको यो खेल पछिल्ला वर्षहरूमा नेपालमा पनि विस्तार हुँदै गएको छ र यसले पश्चिम नेपालको नेपालगन्जलाई पनि बिस्तारै चिनाउँदै गइरहेको छ ।”
सोही पत्रकासम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न तथा स्वस्थ र सिर्जनशील समाज निर्माण गर्न यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताउनुभयो । स्थानीय तहले खेल पूर्वाधारको विकास र खेल गतिविधिको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गरिएको जानकारी दिनुभयो ।
आयोजकले प्रतियोगितालाई भव्य र सफल बनाउन सञ्चारमाध्यम, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, खेलप्रेमी तथा आम नागरिकसँग सहयोग र सक्रिय सहभागिताको आग्रह गरेको छ । आयोजकका अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट राष्ट्रिय तथा उदीयमान खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
खेलाडीहरूको उमेर समूहका आधारमा इलिट महिला तथा पुरुष, मास्टर पुरुष, जुनियर ए, जुनियर बी र किड्स गरी छ वटा विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामार्फत नेपालमा पम्प ट्र्याक खेलको विकास र विस्तार, नयाँ प्रतिभाको पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।
पम्प ट्र्याक विशेष प्रकारका उचाइ ओरालो, घुमाउरा मोड तथा तरंगयुक्त संरचनासहित निर्माण गरिएको ट्र्याकमा खेलिने आधुनिक साइक्लिङ विधा हो ।वयस खेलमा खेलाडीहरूले शरीरको सन्तुलन, गति नियन्त्रण तथा ट्र्याकको बनावटबाट प्राप्त हुने गतिशक्तिको प्रभावकारी प्रयोग गर्दै कमभन्दा कम पैडल प्रयोग गरी निर्धारित दूरी छिटोभन्दा छिटो पूरा गर्ने प्रयास गर्छन् । विश्वका विभिन्न मुलुकमा लोकप्रिय बन्दै गएको यो खेल पछिल्ला वर्षहरूमा नेपालमा पनि विस्तार हुँदै गएको छ ।
नेपालगन्जमा निर्माण गरिएको पम्प ट्र्याकले यस क्षेत्रलाई साइक्लिङ खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना बोकेको आयोजकले जनाएको छ । प्रतियोगिताले युवामा खेल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरणमैत्री यातायातप्रति आकर्षण अभिवृद्धि तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालगन्जको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै प्रतियोगितामा सबै समूह गरी बढीमा ३५ जना खेलाडीलाई सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगिता शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ः३० बजेसम्म दुई चरणमा सञ्चालन गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
उक्त खर्चका लागि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा वडा नम्बर १ नेपालगन्जबाट सहयोग प्राप्त हुने तथा दर्ता शुल्क र विभिन्न सहयोगी संस्थाबाट नगद तथा जिन्सी सहयोग जुटाइने आयोजकले जनाएको छ । नेपालगन्ज बाइसिकलका निर्देशक गगन थापाले प्रतियोगितालाई भव्य र सफल बनाउन सञ्चारमाध्यम, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, खेलप्रेमी तथा आम नागरिकलाई सकारात्मक प्रचारप्रसार, सहयोग र सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।






