बाँके २० जेठः विश्व साइकल दिवसका अवसरमा नेपालगञ्जमा साइकल र्याली आयोजना गर्दै साइकल प्रयोगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारबाट सुरु भएको र्याली गणेशमान चोक हुँदै कान्ति तालमा पुगेर समापन भएको थियो । र्यालीमा करिब ३० देखि ३५ जना साइकलिस्टको सहभागिता रहेको थियो । सहभागीहरूले विभिन्न नारासहित साइकल यात्रामार्फत नागरिकमा स्वास्थ्य, वातावरण संरक्षण र दिगो यातायातप्रति जनचेतना फैलाउने प्रयास गरेका थिए ।
हरेक वर्ष जुन ३ तारिखका दिन मनाइने विश्व साइकल दिवसले विश्वभर साइकलको महत्व, उपयोगिता र यसको सामाजिक तथा वातावरणीय योगदानबारे जनचेतना फैलाउने उद्देश्य बोकेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१८ देखि यस दिवसलाई औपचारिक मान्यता दिएपछि यसको महत्व झन् बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकहरूमा जस्तै नेपालमा पनि साइकललाई स्वस्थ, किफायती, सुरक्षित र वातावरणमैत्री यातायातको माध्यमका रूपमा स्थापित गर्न विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन् । नेपालगञ्जमा आयोजित र्याली पनि त्यही अभियानको एक हिस्सा रहेको आयोजकहरूले बताएका छन् ।
सोही अवसरमा नेपालगञ्ज साइकल क्लब बाँकेका पूर्व अध्यक्ष तथा नेपाल साइकल महासङ्घका महासचिव सतीश निरौलाले आधुनिक जीवनशैलीसँगै बढ्दै गएको सवारी साधनको प्रयोग, इन्धनमाथिको अत्यधिक निर्भरता तथा वायु प्रदूषणका कारण साइकलको आवश्यकता झन् बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “साइकलिङ केवल स्वास्थ्यका लागि लाभदायी अभ्यास मात्र होइन, यो वातावरण संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवार जीवनशैली पनि हो । छोटो दूरीका लागि मोटरसाइकल वा अन्य सवारीसाधनको सट्टा साइकल प्रयोग गर्न सके इन्धनको बचत हुनुका साथै प्रदूषण नियन्त्रणमा पनि महत्वपूर्ण योगदान पुग्छ ।”
साइकलको नियमित प्रयोगले व्यक्तिगत स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नियमित साइकल चलाउँदा शारीरिक तन्दुरुस्ती कायम रहन्छ । मुटु रोग, मधुमेह, उच्च रक्तचाप तथा मोटोपनाजस्ता नसर्ने रोगको जोखिम कम हुन्छ । यसले मानसिक तनाव घटाउन, आत्मविश्वास बढाउन र मानिसलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्न समेत महत्वपूर्ण भूमिका खेल्छ ।”
दैनिक जीवनमा साइकल प्रयोगको संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले थप्नुभयो, “साइकल प्रयोगलाई केवल मनोरञ्जन वा खेलकुदको माध्यमका रूपमा मात्र हेर्नु हुँदैन । यसलाई दैनिक जीवनको संस्कारका रूपमा विकास गर्न आवश्यक छ । यसबाट स्वास्थ्य, वातावरण र अर्थतन्त्र तीनै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।” उहाँले नेपालका अधिकांश सहरहरूमा साइकल चालकका लागि आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार तथा सङ्घीय सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार साइकलमैत्री पूर्वाधार निर्माणबिना साइकल संस्कृतिको विकास सम्भव छैन । “सडक विस्तारसँगै साइकल लेनको व्यवस्था, सार्वजनिक स्थलहरूमा साइकल पार्किङ, विद्यालय तथा कार्यालयहरूमा साइकल प्रयोगलाई प्रोत्साहन गर्ने नीति तथा साइकलमैत्री पूर्वाधार निर्माण गर्न सकिएमा नागरिकहरूलाई साइकलतर्फ आकर्षित गर्न सहज हुनेछ ।” उहाँले भन्नुभयो ।
उहाँले नेपालका अधिकांश सहरहरूमा साइकल चालकका लागि आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार तथा सङ्घीय सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । “सडक विस्तारसँगै साइकल लेनको व्यवस्था, सार्वजनिक स्थलहरूमा साइकल पार्किङ, विद्यालय तथा कार्यालयहरूमा साइकल प्रयोगलाई प्रोत्साहन गर्ने नीति र साइकलमैत्री पूर्वाधार निर्माण गर्न सकिएमा नागरिकहरूलाई साइकलतर्फ आकर्षित गर्न सहज हुनेछ,” उहाँले भन्नुभयो ।
सहभागी साइकलिस्टहरूले साइकललाई केवल खेलकुद वा मनोरञ्जनको साधनका रूपमा मात्र नहेरी दैनिक यातायातको विकल्पका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूका अनुसार नेपालगञ्जजस्ता समथर भूभाग भएका सहरहरू साइकल प्रयोगका लागि अत्यन्त उपयुक्त भए पनि पर्याप्त पूर्वाधार र प्रोत्साहनको अभावका कारण यसको प्रयोग अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी तथा छोटो दूरीमा आवतजावत गर्ने नागरिकहरूले साइकललाई प्राथमिकता दिन सके ट्राफिक चाप कम हुनुका साथै इन्धन आयातमा हुने खर्चसमेत घटाउन सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।
साइकलको प्रयोगले वातावरणीय क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने विज्ञहरू बताउँछन् । पेट्रोलियम पदार्थ प्रयोग नगर्ने भएकाले साइकलबाट कार्बन उत्सर्जन हुँदैन । बढ्दो जलवायु परिवर्तन, तापक्रम वृद्धि तथा वायु प्रदूषणका चुनौतीसँग जुधिरहेको वर्तमान अवस्थामा साइकलको प्रयोगलाई बढावा दिनु वातावरण संरक्षणको प्रभावकारी उपायका रूपमा लिइन्छ । विश्वका विकसित मुलुकहरूले साइकलमैत्री सहर निर्माणलाई प्राथमिकता दिन थालेका छन् भने धेरै स्थानमा नागरिकहरूलाई साइकल प्रयोग गर्न प्रोत्साहन गर्ने विशेष नीति तथा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
सहभागीहरूले नेपालगञ्जलगायत देशका अन्य सहरहरूमा पनि साइकल प्रयोगलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्य गरी साइकलमैत्री नीति, पूर्वाधार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए । विश्व साइकल दिवसले स्वच्छ वातावरण, स्वस्थ जीवनशैली, सुरक्षित यातायात र दिगो विकासको सन्देश प्रवाह गर्ने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको सहभागीहरूको भनाइ थियो ।
र्यालीको समापनपछि सहभागीहरूले कान्ति ताल परिसरमा सामूहिक छलफल गर्दै साइकल संस्कृतिको विकास, सडक सुरक्षामा सुधार तथा युवापुस्तालाई साइकलप्रति आकर्षित गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूका अनुसार व्यक्तिगत स्वास्थ्यदेखि वातावरण संरक्षण र राष्ट्रिय अर्थतन्त्रसम्म सकारात्मक प्रभाव पार्ने साइकलको प्रयोग बढाउनु आजको आवश्यकता हो । विश्व साइकल दिवसले त्यही सन्देशलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।






