बाँके, १८ जेठः “पहिले त सामान्य रूपमा मही बेचिन्थ्यो, पछि यसको मौलिक स्वादलाई छुट्टै रूपमा चिनाउनुपर्छ भन्ने लाग्यो र अहिले मदानीले मही मथेर पुरानो शैलीमा मही बनाउने गरेको छु ।” यो भनाई हो मही बिक्रेता सन्तोष पौडेलको । कोहलपुर नगरपालिका वार्ड नं। १० का सन्तोष पौडेल अहिले “ठेकी स्वादको मही” लाई व्यावसायिक रूपमा ब्रान्डिङ गर्दै स्थानीय बजारसम्म पुर्याउनमा व्यस्त हुनुहुन्छ ।
दाउराको आगोमा तताइएको दूध, काठको ठेकी, मदानीले मथ्ने पुरानो शैली र त्यसबाट आउने मौलिक स्वादलाई उहाँले गर्मीको यो समयमा व्यवसायसँग जोड्दै उपभोक्तालाई खुवाई रहनु भएको छ । उहाँ भन्नुहुन्छ । “ठेकीको स्वादको मही भनेर लेबलिङ गरेर बोतलमै प्याकेजिङ सुरु गर्ने गरेका छौं । अहिले उपभोक्ताबाट निकै राम्रो प्रतिक्रिया पनि पाइरहेका छौँ ।”
आधुनिक प्रविधि र बजारको प्रतिस्पर्धाबीच पनि बाँकेको कोहलपुरमा एक युवा व्यवसायीले परम्परागत स्वादलाई नयाँ पहिचान दिन सफल हुनुभएको छ । दाउराको आगोमा तताइएको दूध, काठको ठेकी, मदानीले मथ्ने पुरानो शैली र त्यसबाट आउने मौलिक स्वादलाई व्यवसायसँग जोड्दै पौडेलले दुई वर्षयता आफ्नो उत्पादनलाई नयाँ रूप दिनुभएको हो । उहाँले सञ्चालन गर्दै आउनुभएको “ए–वान डेरी उद्योग” अहिले कोहलपुर क्षेत्रमा ठेकी महीका लागि परिचित बन्दै गएको छ ।
विगत एक दशकदेखि दुग्धजन्य पदार्थको व्यवसायमा सक्रिय पौडेलले सुरुमा सामान्य डेरी व्यवसायबाट यात्रा थाले पनि पछिल्ला वर्षमा मही उत्पादनमा विशेष ध्यान दिनुभएको बताउनुहुन्छ । उहाँका अनुसार बजारमा मेसिनबाट तयार हुने मही सजिलै पाइए पनि आगोमा पकाइएको दूध र ठेकीमा मथिएको महीको स्वाद फरक हुने भएकाले उपभोक्ताले यसलाई रुचाउन थालेका छन् ।
उहाँको उद्योगमा अहिले दैनिक चार सय लिटर ठेकीबाट बनाइएको मही उत्पादन हुन्छ । यसबाहेक करिब डेढ सय लिटर खुला मही पनि बिक्री हुँदै आएको छ । पाँच सय मिली लिटरको बोतलमा प्याक गरिएको मही स्थानीय बजारमा पुग्ने गरेको छ भने खुला मही उद्योगबाटै बिक्री गरिन्छ ।
ठेकी मही बनाउने प्रक्रिया भने मेहनतपूर्ण छ । दाउराको चुलोमा मनतातो गरी दूध तताइन्छ । त्यसपछि मेसिनबाट क्रिम अलग गरिन्छ । पुनः सोही दूधलाई चुलोमा उमालिन्छ र आवश्यक तापक्रममा चिस्याएपछि दहीको जोडन हालेर निश्चित समय हिटिङ रुममा राखिन्छ । दही जमिसकेपछि आवश्यक मात्रामा ठेकीमा राखेर मदानीले मथिन्छ । यही प्रक्रियापछि तयार हुने महीमा आगोको स्वाद र काठको प्राकृतिक गन्ध मिसिने भएकाले यसको स्वाद फरक हुने पौडेलले भन्नुभयो ।
उहाँका अनुसार अहिले उपभोक्ता स्वादसँगै स्वास्थ्यप्रति पनि सचेत बन्दै गएका छन् । महीले पाचन प्रणाली सुधार गर्ने, शरीरलाई चिस्यान दिने, एसिडिटी कम गर्ने, थकान हटाउने, क्याल्सियम उपलब्ध गराउने तथा रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने विश्वासले पनि यसको माग बढिरहेको उहाँको अनुभव छ ।
“राजनीतिमा सेवाभावले लागेँ तर जीवन धान्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न उद्यम अपरिहार्य रहेछ । अहिले व्यवसायमै बढी समय दिइरहेको छु ।” उहाँले भन्नुभयो, “यही उद्योगले अहिले मेरै परिवारका सदस्यसहित अन्य चार जनालाई रोजगारी पनि दिएको छ ।” उद्योग सञ्चालनमा लुम्बिनी प्रदेश सरकार तथा कोहलपुर नगरपालिकाबाट केही मेसिनरी सामग्रीमा सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको अटोमार्फत मही बजारसम्म पुर्याउन सहज भएको उहाँको भनाइ छ । स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य बोकेको बताउँदै पौडेल सरकारसँग थप सहयोगको अपेक्षा पनि राख्नुहुन्छ । विशेषगरी स्वच्छ पानी उत्पादनका लागि आवश्यक फिल्टर प्रणालीमा अनुदान वा सहुलियत उपलब्ध भए उत्पादन विस्तार र ब्रान्डिङ अझ प्रभावकारी बन्ने उहाँको विश्वास छ ।
परम्परागत स्वाद हराउँदै गएको समयमा कोहलपुरका पौडेलले पुरानै शैलीलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिरहनुभएको छ । उहाँको यो प्रयासले स्थानीय उत्पादनलाई मात्र होइन, नेपाली मौलिक खानपान संस्कृतिलाई पनि नयाँ पुस्तासम्म जोगाइराख्ने विश्वास गरिएको छ ।






