नेपालगञ्ज (बाँके), १८ जेठः कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै निक्षेपकर्ताहरूले आइतबार नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् । विगत दुई वर्षदेखि आफ्नो बचत रकम प्राप्त गर्न नसकेका झण्डै तीन सय निक्षेपकर्ताले नेपालगञ्जस्थित बैंकको कार्यालय घेराउ गर्दै आन्दोलन गरेका हुन् ।
आन्दोलनमा बाँके, बर्दिया र दाङका पीडित निक्षेपकर्ताको सहभागिता रहेको थियो । उनीहरूले आफूहरूको रकम यथाशीघ्र फिर्ता गर्न तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । आन्दोलनमा सहभागी बर्दियाको बाँसगढी निवासी ललिता थापाले आफ्नो संस्थाको २२ लाख रुपैयाँ बैंकमा रोकिएको बताउनुभयो। उहाँका अनुसार संस्थागत तथा व्यक्तिगत रूपमा रकम जम्मा गरेका सयौँ सेवाग्राही हालसम्म रकम फिर्ता नपाएर समस्यामा परेका छन् ।
पीडितहरूले दिएको जानकारीअनुसार बैंकमा केही व्यक्तिको ८० लाख रुपैयाँदेखि ७ करोड रुपैयाँसम्म निक्षेप रहेको छ । रकम फिर्ता नहुँदा धेरै निक्षेपकर्ता आर्थिक तथा मानसिक समस्यामा परेको उनीहरूको गुनासो छ । पीडितहरूको दाबीअनुसार बैंकले अझै करिब ४ अर्ब ३० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्न बाँकी रहेको छ । हालसम्म बैंकमा ३ अर्ब २० करोड रुपैयाँ हिनामिना भएको उजुरी परेको बताइएको छ ।






