बाँके, १० जेठः बालबालिकालाई खेलकुदमार्फत अनुशासित, सक्रिय र स्वस्थ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको एन्फा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम नेपालगन्ज रंगशालामा सम्पन्न भएको छ । गत कात्तिक १६ गतेदेखि सुरु भएको उक्त कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बाँके जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन गरिएको थियो ।
प्रशिक्षण समापन कार्यक्रममा सहभागी बालबालिकालाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा ले बालबालिकामा सानैदेखि खेलकुदप्रतिको रुचि विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले खेलकुदले बालबालिकाको शारीरिक विकाससँगै आत्मविश्वास र अनुशासन निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
“रंगशालामा बालबालिका उत्साहका साथ खेलिरहेको देख्दा निकै खुसी लागेको छ,” उहाँले भन्नुभयो, “यदि सानै उमेरदेखि खेलकुदमा आकर्षित गर्न सकियो भने भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिन्छ । स्थानीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्नेछ ।”
कार्यक्रममा आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, कार्यक्रम संयोजक श्याम सुन्दर मल्ल, महिला फुटबल समिति बाँकेकी अध्यक्ष नितु चन्द शाह लगायतले बालबालिकालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
अध्यक्ष शाहीका अनुसार संघले ग्रासरुट तथा विभिन्न उमेर समूह लक्षित कार्यक्रममार्फत एक वर्षमा करिब तीन हजार बालबालिकालाई फुटबलसँग जोड्ने प्रयास गरिरहेको छ । आर्थिक अभावका कारण रोकिँदै गएको प्रशिक्षण कार्यक्रमलाई नेपालगन्ज उपमहानगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेर निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।
नेपालगन्ज रंगशालामा हरेक बिहीबार र शुक्रबार सञ्चालन भएको प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का फुटबल प्रशिक्षक रविन्द्र कुमार श्रेष्ठ, सानु तामाङ तथा एन्फा प्रशिक्षक युवराज शाही, भोजबहादुर शाही, भिमजंग शाह, टोपबहादुर महतारा र स्मित तामाङ लगायतको टोलीले बालबालिकालाई फुटबलका आधारभूत सीप सिकाएको थियो ।
महिला फुटबल समिति बाँकेकी अध्यक्ष शाहले बालबालिकाको सक्रिय सहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।






