बाँके, १७ वैशाखः भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बौझीका युवा सहिद इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको स्मृतिमा आज सालिक अनावरण गरिएको छ । सहिद द्वयको सोही वडामा आधा कदको सालिक स्थापना गरी अनावरण गरिएको हो ।
अनावरण कार्यक्रममा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गर्दै सालिक अनावरण गर्नुभयो । कार्यक्रममा सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल लगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख प्रशान्त बिष्टले भन्नुभयो, “भदौ २३ र २४ को घटनाले नेपालगञ्जवासीलाई अत्यन्त स्तब्ध बनाएको छ। एकै वडाका, उस्तै उमेरका दुई युवा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका बेला सहिद हुनुपर्दा हामी सबै गहिरो दुःखमा डुबेका छौं ।” उहाँले सहिदहरूको सपना पूरा गर्नु नै सबैको दायित्व भएको उल्लेख गर्दै भन्नुभयो, “सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उहाँहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।”
नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रवेशद्वार निर्माण भइरहेको जानकारी दिँदै उहाँहरूको स्मृतिलाई सदैव जीवित राखिने बताउनुभयो । साथै उहाँले “देशमा शान्ति, सुशासन र समृद्धि कायम गर्न सबै पक्ष एकजुट हुन आवश्यक छ” भन्दै स्थानीय सरकार सधैं सकारात्मक काममा सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, सोही कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले भन्नुभयो, “सहिदहरूको बलिदानलाई सम्मान गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्नु हाम्रो कर्तव्य हो ।” उहाँले सहिदहरूको योगदानलाई भावी पुस्ताले पनि सम्झिरहने गरी संरक्षण र सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच, नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र वाटरपार्कद्वारा आगामी वैशाख १९ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पुरुष डबल्स भेट्रान्स ५० प्लस खुल्ला, पुरुष डबल्स बी लेबल खुल्ला र पुरुष डबल्स सी लेबल बाँके जिल्ला स्तरीय इभेन्टहरू समावेश गरिएका छन् । आयोजक सदस्य इन्द्र रानाका अनुसार टिम दर्ता प्रक्रिया जारी रहेको छ ।
प्रतियोगिता सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिका र वडा नम्बर १ को कार्यालयले सहकार्य गरेका छन् भने नेपाल ब्याडमिन्टन संघ काठमाडौं र बाँके जिल्ला ब्याडमिन्टन संघ नेपालगञ्जले प्राविधिक सहयोग प्रदान गरेका छन् । आयोजकका अनुसार वैशाख १७ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिने, वैशाख १८ गते टाइसिट सार्वजनिक गरिने र वैशाख १९ र २० गते प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिता वाटरपार्कस्थित कवर्ड हलमा आयोजना गरिनेछ । पुरस्कारतर्फ पुरुष डबल्स भेट्रान्सतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी पुरुष डबल्स बी लेबलतर्फ प्रथमले ४० हजार, द्वितीयले २५ हजार र तृतीयले १० हजार रुपैयाँ तथा पुरुष डबल्स सी लेबल जिल्लास्तरीयतर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले ८ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।






