बाँके, १५ वैशाखः नेपालगञ्जस्थित भेरी अस्पतालले उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, दुर्व्यवहार तथा हातपातको प्रयास गर्ने आफूलाई पत्रकार बताउने व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको छ । अस्पताल प्रशासनले सोमबार प्रेस नोट जारी गर्दै बैजनाथ गाउँपालिका वडा नं. ८ बाँके निवासी ६५ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि केही व्यक्तिले अस्पताल प्रशासनमाथि अनावश्यक दबाब सिर्जना आफूलाई पत्रकार बताउने व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, दुर्व्यवहार तथा हातपातको प्रयास गरेको भन्दै ती व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिईएको हो ।
अस्पतालका अनुसार ती महिला पेट तथा छातीसम्बन्धी समस्याका कारण २०८३ वैशाख ८ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई एपीडी (थाइराइडाइटिस), हाइपोथाइराइडिज्म, उच्च रक्तचाप तथा टाइप २ डायबिटिज मेलिटसजस्ता दीर्घरोगको समेत उपचार भइरहेको थियो । उपचारका क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएकाले कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखी ईसीजी, इको तथा कार्डियाक इन्जाइमलगायत आवश्यक परीक्षण पटक पटक गरिएको अस्पतालले जनाएको छ । बिरामीको अवस्थालाई मध्यनजर गर्दै बहुविधागत सहकार्यअन्तर्गत ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा मिर्गौला रोग विशेषज्ञबाट समेत परामर्श लिइएको थियो ।
यथासम्भव सबै स्थापित विधि र प्रक्रियाअनुसार उपचार गर्दा पनि रोगको स्पष्ट निदान हुन नसकेपछि थप ‘सेकेन्ड ओपिनियन’ का लागि वैशाख ११ गते रेफर गरिएको थियो। केही सुधार देखिएपछि पनि अस्पतालमै उपचार जारी राखिएको थियो। तर वैशाख १३ गते अचानक बिरामीको अवस्था गम्भीर रूपमा बिग्रिएपछि उनको दुःखद निधन भएको अस्पतालले जनाएको छ ।
घटनापछि अस्पताल प्रशासन र बिरामी पक्षबीच विस्तृत छलफल भएको तथा उपचारका क्रममा गरिएका सम्पूर्ण प्रयासबारे जानकारी गराइएको अस्पतालले जनाएको छ । साथै वैशाख १४ गते अस्पताल प्रमुख, विभिन्न विभागीय प्रमुख, प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ का सांसद तथा पूर्वराज्यमन्त्री दलबहादुर सुनारको उपस्थितिमा पुनः छलफल सम्पन्न भएको थियो ।
अस्पतालका अनुसार यदि उपचार प्रक्रियामा कुनै त्रुटि भएको भए सम्बन्धित निकायबाट अनुसन्धान गर्न आफूहरू तयार रहेको र त्यस प्रक्रियामा बिरामी पक्ष जान स्वतन्त्र रहेको जानकारी गराइएको थियो । तर दबाबका आधारमा अस्पतालले लापरवाही स्वीकार नगर्ने स्पष्ट पारेको थियो । प्रेस नोटअनुसार वैशाख १५ गते बिहान करिब १०ः३० बजे मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की, हातपातको प्रयास तथा अमर्यादित व्यवहार गरेका थिए ।
त्यस्तै प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डेमाथि पनि शारीरिक आक्रमणको धम्की सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अस्पतालले जनाएको छ । यस घटनाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको उल्लेख गर्दै अस्पतालले सामाजिक सञ्जालमा अस्पताल र स्वास्थ्यकर्मीविरुद्ध भइरहेका आधारहीन आरोप र अनर्गल प्रचारप्रति आपत्ति जनाएको छ ।
अस्पताल प्रशासनले घटनामा संलग्न व्यक्तिहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरिएको जनाएको छ । अस्पतालले बिरामीको जीवन रक्षा र स्वास्थ्य सुधारका लागि समर्पित संस्था भएकाले चिकित्सक र बिरामीबीच अविश्वास सिर्जना गर्ने तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ ।






