बाँके, १७ चैतः नेपालगञ्ज उद्योग वाणिज्य संघले आफ्नो नेतृत्व तहबाट राष्ट्रिय स्तरको प्रतिनिधित्व सुदृढ गर्ने रणनीतिसहित संघका अध्यक्ष टंकबहादुर धामीलाई नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि आधिकारिक उम्मेदवार घोषणा गरेको छ । संघको ४४औँ कार्यसमिति बैठकले सर्वसम्मत निर्णय गर्दै धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपालगञ्जमा सम्पन्न बैठकले उम्मेदवारी घोषणा मात्र नगरी धामीलाई विजयी गराउन समन्वयात्मक रूपमा अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि ओलीका अनुसार लुम्बिनी प्रदेशअन्तर्गतका सम्पूर्ण उद्योग वाणिज्य संघसँग समन्वय गर्दै मतदानमा सहयोग गर्न अपील गरिएको छ । उहाँले संघले आफ्ना उम्मेदवारलाई विजयी गराउन रणनीतिक रूपमा आवश्यक सम्पूर्ण पहल गर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष धामीले उम्मेदवार घोषणा भएसँगै भिडियो सन्देशमार्फत मतदातासँग समर्थनको अपील गर्नुभएको छ । उहाँले महासंघमार्फत निजी क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने योजना रहेको बताउनुभयो। “व्यवसायीका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण र आर्थिक नीतिमा निजी क्षेत्रको आवाज बलियो बनाउने मेरो प्राथमिकता रहनेछ ।” उहाँले सन्देशमा भन्नुभयो, “मतदाताको विश्वासले नै यी लक्ष्य पूरा गर्न सकिन्छ भन्ने विश्वास लिएको छु ।”
धामी लामो समयदेखि उद्योग वाणिज्य क्षेत्रसँग आबद्ध रहँदै आउनुभएको छ । स्थानीय तहमा व्यवसायीको हकहितका विषय उठाउनेदेखि संघको संस्थागत विकासमा योगदान पुर्याएकाले उहाँ अनुभवी नेतृत्वका रूपमा हेरिनुहुन्छ। नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि उहाँको अनुभव र नेतृत्व क्षमताका आधारमा केन्द्रीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन यही चैत २९ र ३० गते काठमाडौंमा हुने तय भएको छ । उक्त निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। लुम्बिनी प्रदेशबाट २४ मतदाता रहेको र सो प्रदेशबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । यस निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । विशेषगरी प्रदेशस्तरबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने उम्मेदवारहरूको प्रतिस्पर्धाले आगामी आर्थिक नीतिनिर्माण तथा व्यवसायिक वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघले धामीको उम्मेदवारीलाई केवल व्यक्तिगत अवसर नभई समग्र क्षेत्रीय प्रतिनिधित्वका रूपमा प्रस्तुत गर्दै आएको छ। संघका पदाधिकारीहरूले लुम्बिनी प्रदेशका व्यवसायीको साझा आवाजलाई केन्द्रसम्म पुर्याउन उहाँको उम्मेदवारी महत्वपूर्ण हुने बताएका छन् । आगामी निर्वाचनमा विभिन्न प्रदेशबाट प्रतिस्पर्धी उम्मेदवारहरू मैदानमा उत्रिने तयारी भइरहेका बेला धामीले आफ्नो अनुभव, योजना र प्रतिबद्धताका आधारमा मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहनुभएको छ । चुनावी माहोलसँगै निजी क्षेत्रभित्र नेतृत्व चयनको चहलपहल पनि बढ्दै गएको छ ।






