बाँक, १७ चैतः राष्ट्रिय गौरवका रूपमा अघि बढाइएको भेरी–बबई डाइभर्सन आयोजनाको समग्र भौतिक प्रगति ८३.७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७१।७२ मा सुरु गरिएको यो बहुउद्देश्यीय आयोजना निर्धारित लक्ष्यतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । भेरी नदीको पानी सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाका खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने तथा विद्युत् उत्पादन गर्ने मुख्य उद्देश्यका साथ आयोजना कार्यान्वयनमा ल्याइएको हो ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नं. ११ चिप्लेमा निर्माण गरिएको बाँधबाट पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बर्दिया र सुर्खेतको सीमामा पर्ने बबई नदीमा खसालिनेछ । यस आयोजनाबाट करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ भने ४८ देखि ८६ मेगावाटसम्म विद्युत् उत्पादनको क्षमता विकास गरिने लक्ष्य राखिएको छ । यसले विशेषगरी मध्यम तथा पश्चिम तराईका कृषकहरूको उत्पादनमा गुणात्मक वृद्धि गर्ने विश्वास गरिएको छ ।
कुल ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । बाँध निर्माणअन्तर्गत छ वटा वेमध्ये दुई वटा वेको ढलान, ग्राभल ट्र्याप, फोरबे, लिफ्ट वाललगायत संरचनाहरू निर्माण सम्पन्न भइसकेका छन् । बाँकी संरचनाहरूको निर्माण कार्य तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ ।
सर्ज साफ्ट निर्माणतर्फ स्लोप स्ट्याबिलाइजेसनको काम सम्पन्न भइसकेको छ भने हाल साफ्ट खन्ने कार्य सुरु भएको छ । यसका लागि आवश्यक प्रविधि र उपकरणहरू जडान गरिसकिएको छ । आयोजनाका सूचना अधिकारी पवन अधिकारीका अनुसार स्लिपवेका वे नं। १ र २ मा स्टिल लाइनिङको काम सम्पन्न भइसकेको छ भने हाइड्रोमेकानिकलसम्बन्धी अधिकांश डिजाइनहरू स्वीकृतिको अन्तिम चरणमा छन् ।
इलेक्ट्रोमेकानिकल सामग्रीमध्ये तीन वटा ड्राफ्ट ट्युब फिल्डमा आइसकेका छन् । साथै ट्रान्सफर्मर, टर्वाइन रनरलगायत उपकरणहरू पनि स्थलमा ल्याइसकिएको छ । विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारका लागि आवश्यक सम्झौता सम्पन्न भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन कार्य पनि अघि बढाइएको छ ।
आयोजनाका लागि आवश्यक ३३ हेक्टर जग्गामध्ये उल्लेखनीय भाग प्राप्त भइसकेको छ । गत आर्थिक वर्षमा १०.५९ हेक्टर जग्गाको स्वामित्व यकिन गरिएको थियो भने ६.५३ हेक्टर जग्गाको मुआब्जा वितरण भइसकेको छ। बाँकी जग्गा अधिग्रहण तथा मुआब्जा वितरण प्रक्रिया जारी रहेको छ । यस आयोजनाले दीर्घकालीन रूपमा क्षेत्रीय विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सिँचाइ सुविधा विस्तार भएसँगै कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढ हुने विश्वास गरिएको छ । साथै जलस्रोतको समुचित उपयोगमार्फत ऊर्जा उत्पादनमा समेत टेवा पुग्नेछ । सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा प्राथमिकताका साथ अघि बढाएको भेरी–बबई डाइभर्सन आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी तथा सरोकारवाला निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् ।
आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका हजारौं किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने समग्र प्रदेशकै कृषि र ऊर्जा क्षेत्रमा नयाँ सम्भावना खुल्ने देखिएको छ ।






