बाँके, १७ चैतः नेपालगञ्ज उपमहानगरपालिकामा ‘नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिवल’ आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल संघ नेपाल बाँके (हान) को संयुक्त आयोजनामा हुने उक्त फेस्टिवलले स्थानीय पर्यटन प्रवर्द्धन, रैथाने परिकारको संरक्षण तथा होटल व्यवसायको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेलले भन्नुभयो, “फेस्टिवलमा विशेषगरी रैथाने तथा परम्परागत परिकारहरू प्रदर्शन गरिनेछ । यस फेस्टिवलले नेपालगञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै धार्मिक स्थलहरूको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ ।”
आयोजकका अनुसार फेस्टिवल सञ्चालनका लागि तयारी भइरहेकामा चैत्र १९ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्ने योजना रहेको छ भने अर्को चरणमा वैशाख ११ गतेदेखि १३ गतेसम्म विशेष कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको छ । फेस्टिवल नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत सुर्खेत रोडस्थित शुभहोल चौकदेखि कोहलपुर मोडसम्मको क्षेत्रमा सञ्चालन गरिनेछ ।
फेस्टिवलमा विभिन्न प्रकारका खानाका स्टलहरू, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन् । सहभागी व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर पाउनेछन् भने उपभोक्ताहरूले गुणस्तरीय सेवा र विविध परिकारको स्वाद लिन सक्नेछन् ।
कार्यक्रममार्फत स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्नुका साथै स्थानीय व्यवसायीहरूको आर्थिक गतिविधि वृद्धि गर्न मद्दत गर्ने विश्वास आयोजकको छ । नेपालगञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न समेत फेस्टिवल प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन करिब ३५ सदस्यीय मूल समिति तथा १७ वटा उपसमिति गठन गरी तयारीलाई तीव्र पारिएको जनाइएको छ । फेस्टिवल अवधिभर ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
होटल संघ नेपाल बाँकेका अध्यक्ष दिवस खनाल र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष हिमाल कँडेलले फेस्टिवल सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।






