नेपालगन्ज, चैत्र १७ । बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा तथा बास नेपालको सहजिकरणमा नरैनापुर–४ स्थित रंगशालामा कार्यक्रम सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाईमा सरोकारवाला र सहभागीबीच दोहोरो प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिनुका साथै पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ ।
प्रतिबद्धताअनुसार गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समितिमार्फत निर्णय गरी कार्यपालिकामा पठाइने, विद्यालय व्यवस्थापन समिति चयन प्रक्रियालाई पारदर्शी बनाउन सार्वजनिक सूचना जारी गरिने, नरैनापुर–४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनका लागि पहल गरिने, आवश्यकताको आधारमा धारा तथा बोरिङ वितरण कार्य अघि बढाइने, सडक निर्माणमा नाला व्यवस्थापन अनिवार्य गरिने, योजनाको प्रभावकारी अनुगमन गरिने तथा सडक अतिक्रमण हटाउन आवश्यक कदम चालिने उल्लेख गरिएको छ ।
कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले सार्वजनिक सुनुवाईको उद्देश्यसँगै पूर्वतयारीका रूपमा तयार गरिएको नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । त्यसैगरी नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले चालु आर्थिक वर्षमा सम्पन्न भएका गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको सहजिकरणमा सम्पन्न कार्यक्रममा स्वागत नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले गरेका थिए । सुनुवाईमा सहभागीहरूले गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरी पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा लक्षित वर्ग उत्थान कार्यक्रमसम्बन्धी विषयमा सहभागीहरूले खुलेर प्रश्न राखेका थिए भने जनप्रतिनिधि तथा कर्मचारीहरूले ती प्रश्नहरूको जवाफ दिएका थिए । कार्यक्रममा करिब १६० भन्दा बढीको सहभागिता रहेको थियो ।






