बाँके, १९ फागुनः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका प्रमुख राजनीतिक दलले शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचनका लागि संयुक्त प्रतिबद्धता जनाएका छन् । क्षेत्र नं. २ मा फागुन २१ गते हुने मतदानलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न वार्ड नं. १२ का राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवाला निकायले १० बुँदे निर्णय गर्दै प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले निर्वाचन प्रक्रियालाई निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन १० बुँदे निर्णय गरेको हो । निर्णयअनुसार सबै राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने र मतदानका दिन शान्तिपूर्ण वातावरण कायम राख्न जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने सहमति गरिएको छ ।
निर्णयमा मतदान केन्द्रमा प्रवेश गर्दा मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा सम्बन्धित निकायबाट प्राप्त आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने उल्लेख छ । शारीरिक रूपमा अशक्त, वृद्धवृद्धा तथा दृष्टिविहीन मतदातालाई आवश्यक सहयोग उपलब्ध गराइने व्यवस्था मिलाइने पनि निर्णय गरिएको छ ।
यस्तै, प्रत्येक उम्मेदवारले मतदान प्रतिनिधि नियुक्त गर्न पाउने र सो प्रतिनिधिले आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदान केन्द्र परिसरमा कुनै पनि प्रकारका प्रचारप्रसारजन्य सामग्री, झण्डा, ब्यानर, नारा लगायतका सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ । बैठकले मतदान केन्द्रमा शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मी परिचालन गरिने, मतदान अधिकृतको निर्देशन पालना गर्न सबै पक्षलाई आग्रह गर्ने तथा मतदानका क्रममा विवाद उत्पन्न भएमा तत्काल छलफल र समन्वयबाट समाधान गर्ने निर्णय पनि गरेको छ ।
निर्वाचन अधिकृतले सबै मतदातालाई तोकिएको समयभित्र उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबैको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।






