बाँके, १९ फागुनः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेको भारतसँग जोडिएको ६५ किलोमिटर लामो सीमा क्षेत्र ७२ घण्टाका लागि बन्द गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले नेपाल–भारत जमुनाहा नाका सहित जिल्लाका सम्पूर्ण सहायक नाकाहरू सोमबार राति १२ बजेदेखि लागू हुने गरी बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले भन्नुभयो, “निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीहरूको बैठकबाट सहमति जुटेपछि सीमा बन्द गर्ने निर्णय गरिएको हो । नेपाल पक्षबाट मात्र नभई भारतीय प्रशासनले पनि आफ्नो भूभागतर्फबाट सीमा पूर्णरूपमा बन्द गरेको छ ।”
निर्धारित अवधिभर एम्बुलेन्स तथा अन्य अत्यावश्यक सवारी साधन बाहेक सीमा नाकाबाट कुनै पनि प्रकारको आवागमन अनुमति नहुने प्रशासनले स्पष्ट पारेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहा नाकालगायत सहायक नाकामा सुरक्षाकर्मीको परिचालन बढाएको छ ।
१८ फागुनदेखि २१ फागुन रातिसम्म निरन्तर गस्ती सञ्चालन गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो । सीमा क्षेत्र आसपासका अधिकांश मतदानस्थल अति संवेदनशील रहेकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको तथा दुबै देशका सुरक्षाकर्मीबीच संयुक्त गस्तीसमेत सुरु भएको जनाइएको छ ।






