बाँके, १० माघः “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे किरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसें,” सल्यानको कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भन्नुभयो । उहाँका अनुसार कानमा किरा पसेपछि नजिकैको मेडिकलमा जाँच गराए पनि समस्या समाधान हुन सकेन । “औषधि खाँदा दुखाइ केही समय कम हुन्थ्यो, तर फेरि उस्तै हुन्थ्यो,” उहाँले पीडा सुनाउनुभयो ।
ग्रामीण भेगमा बसोबास गर्ने दिलकुमारीजस्ता नागरिकका लागि विशेषज्ञ सेवा पाउनु सहज छैन । टाढाको अस्पताल जान आर्थिक अवस्था, बाटोको कठिनाइ र उमेरले पनि समस्या थप्ने गरेको उहाँको अनुभव छ । “हामी गाउँलेहरू बेला–बेला गाउँमै बस्ने स्वास्थ्य शिविरको प्रतीक्षामा हुन्छौँ । शहर पुगेर उपचार गराउने हैसियत सबैसँग हुँदैन,” उहाँले भन्नुभयो ।
गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा जाँच गराएपछि भने उहाँले ठूलो राहत पाउनुभएको छ । “राति सुतेको बेला किरा पसेको र समयमा उपचार नभएकाले कान भित्रको मांसपेशी नै सुन्निएको रहेछ । शिविरमा राम्रोसँग जाँच भयो ।” उहाँले भन्नुभयो । विगत पाँच वर्षदेखि सोही किरा पसेर दुखि रहेको कान कम सुन्ने समस्या रहेको पनि बताउनुभयो । “गाउँगाउँ पुग्ने स्वास्थ्य शिविरले घरआँगनमै उपचार गरिदिँदा हामीजस्ता गरिब र विपन्नका लागि निकै भरपर्दो र लाभदायक काम भएको छ,” दिलकुमारीले भन्नभयो ।
दिलकुमारी जस्तै कपुरकोट गाउँपालिका ४ की १७ वर्षीया समिक्षा डाँगी पनि कानको समस्याले एक महिनासम्म हैरान हुनु भएको थियो । “राति सुतेको बेला कानमा किरा पसेको थियो । त्यसपछि निरन्तर दुखाइ भयो,” समिक्षाले भन्नुभयो । उहाँले गाउँकै मेडिकलमा उपचार गराए पनि समस्या निको नभएको बताउनुभयो । “यहाँ सामान्य औषधि मात्र पाइन्छ । ठूलो अस्पताल जान टाढा छ, खर्च पनि धेरै लाग्छ ।” उहाँले भन्नुभयो ।
स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरको टोली आएपछि भने समिक्षालाई उपचारप्रति विश्वास बढेको छ । “शिविरमा राम्रोसँग जाँच गरियो, कानभित्रको समस्या निकालेर उपचार गरेपछि अहिले धेरै आराम भएको छ,” उहाँले खुशी व्यक्त गर्नुभयो । समयमा उपचार नपाउँदा निकै गाह्रो भएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “गाउँमै यस्तो शिविर नआएको भए समस्या झन् बढ्ने थियो । हामी ग्रामीणका लागि शिविर नै सबैभन्दा भरपर्दो उपचार हो ।”
कानकै समस्याका कारण शिविरमा दिल कुमारी र समिक्षा जस्तै जाँच गराउन आउनु भएका ७१ वर्षीया रामप्रसाद शर्मा भन्नुहुन्छ, “म विगत चार वर्षदेखि कान पाक्ने रोगले ग्रस्त छु ।” लामो समयदेखि समस्या भए पनि नियमित उपचार गराउन सकि रहेको थिएन । उहाँले भन्नुभयो, “टाढाको अस्पताल जान आउन नै धेरै समय लाग्ने र पैसा पनि उस्तै खर्च हुने । गाउँमै स्वास्थ्य शिविर बस्ला भनेर पर्खि रहेको थिएँ ।” शिविरमा गरिएको जाँचपछि उहाँ उपचारप्रति आशावादी देखिनुभयो ।
उहाँ जस्तै कान पाक्ने रोगको समस्या लिएर २१ जना उक्त शिविरमा चेक जाँचका लागि आएका थिए । व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँके, नेपालगञ्जको प्राविधिक सहयोग तथा सल्यानको कपुरकोट गाउँपालिकाको आयोजनामा कपुरकोट आधारभूत अस्पतालमा नाक, कान र घाँटीसम्बन्धी स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा कुल १ सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये ६२ जना पुरुष र १ सय २८ जना महिला रहेका थिए । जाँच गराएकामध्ये कान पाक्ने रोग भएका २२ जना र कानको शल्यक्रिया आवश्यक पर्ने ११ जनालाई थप उपचारका लागि व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँके, नेपालगञ्जमा रिफर गरिएको आयोजकले जनाएको छ । यसका साथै २७ जनाको श्रवण शक्ति परीक्षण गरिएको थियो ।
शिविरमा व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँके, नेपालगञ्जका मेडिकल डाइरेक्टर एवं नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर अजय वैश्य, कान सहायक चिकित्सक एवं आउटरीच इन्चार्ज भिषण थारु तथा कान सहायक चिकित्सक दामोदर चौधरीले सेवा प्रदान गर्नुभएको थियो । डाक्टर वैश्यले भन्नुभयो, “ग्रामीण भेगका बिरामीहरू लामो समयदेखि उपचारको पहुँचबाहिर रहेका हुन्छन् । गाउँमै आएर बिरामीको राम्रो र सफल चेकजाँच गर्न पाउँदा हामीलाई पनि सन्तुष्टि मिलेको छ ।”
उहाँका अनुसार यस्ता शिविरले प्रारम्भिक अवस्थामा रोग पहिचान गर्न र जटिल अवस्थाका बिरामीलाई समयमै रिफर गर्न ठूलो सहयोग पुर्याउँछ । “स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएका स्वास्थ्य शिविर ग्रामीण नागरिकका लागि सबैभन्दा भरपर्दो उपचारको माध्यम बनेका छन्,” उहाँले भन्नुभयो । ग्रामीण भेगमा बसोबास गर्ने नागरिकहरू अझै पनि नाक, कान र घाँटीसम्बन्धी समस्यालाई बेवास्ता गर्न बाध्य छन् ।
टाढाको बाटो, आर्थिक अभाव र चेतनाको कमीका कारण उपचार ढिला हुने गरेको स्थानीयको गुनासो छ । यस्तो अवस्थामा कपुरकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरले स्थानीयवासीलाई घरआँगनमै विशेषज्ञ सेवा प्रदान गर्दै ठूलो राहत दिएको छ । दिलकुमारी, समिक्षा र रामप्रसादजस्ता सेवाग्राहीका अनुभवले गाउँगाउँ पुग्ने स्वास्थ्य शिविरको आवश्यकता र प्रभावकारिता स्पष्ट रूपमा देखाएको छ ।






