बाँके, ६ माघः बाँकेको कोहलपुर नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय बाँकेअन्तर्गत रहेको ज्योति सामुदायिक वन को अनुगमन गरिएको छ । लुम्बिनी प्रदेशमा विश्व बैंकको अनुदानमार्फत सञ्चालन भइरहेको समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत भएका गतिविधिहरूको अनुगमनका क्रममा विश्व बैंक, रेड कार्यान्वयन केन्द्र तथा प्रदेश वन निर्देशनालयका प्रतिनिधिहरूले उक्त वनको अनुगमन गरेका हुन् ।
ज्योति सामुदायिक वनमा आर्थिक वर्ष २०८१, ०८२ मा पुनरुत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत रु ९ लाख ६० हजारको लागतमा मेसजाली फेन्सिङसहित ५।५६ हेक्टर क्षेत्रफलमा वन पुनर्स्थापनाका कार्यहरू सञ्चालन गरिएको थियो । कार्यक्रमअन्तर्गत साल, सत्तिसाल, खयर, कर्मा लगायतका विभिन्न प्रजातिका बिरुवाको रोपण गर्नुका साथै प्राकृतिक रूपमा उम्रिएका बिरुवाको संरक्षण तथा प्रवर्द्धन गरिएको छ ।
अनुगमन टोलीमा विश्व बैंकका प्रतिनिधि, रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनी, प्रदेश वन निर्देशनालयका निर्देशक प्रभात सापकोटा, समृद्धिका लागि वन कार्यक्रम का वातावरण सुरक्षा विज्ञ दामोदर शर्मा तथा प्राकृतिक स्रोत विज्ञ लिला राज पौडेल सहभागी थिए । अनुगमनका क्रममा कार्यक्रमले वनको दिगो व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरिएको थियो ।
यसैगरी डिभिजन वन कार्यालय बाँकेबाट टंकबहादुर गुरुङ र सुशिल सुवेदी, कोहलपुर सब–डिभिजन वन कार्यालयका प्रमुख प्रभातकुमार दाहाल, तथा ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश घर्ति मगर लगायत कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरूको समेत अनुगमनमा उपस्थिति रहेको थियो ।






