बाँके, ५ माघः बाँकेको नेपालगञ्जमा पश्चिम नेपालको सबैभन्दा ठूलो र प्रतिक्षित फुटसल प्रतियोगिता हुने भएको छ । गोलफेस्ट २०२६ आगामी माघ ९ र १० गते बाँकेको नेपालगन्जस्थित बागेश्वरी फुटसल तथा खेलकुद केन्द्रमा फुटसल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
ईश्वरी युनाइटेड प्रालिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउनु रहेको आयोजक संस्था संस्थाका अध्यक्ष सौगात बिक्रम शाहले जानकारी दिनुभयो । “गोलफेस्ट केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यो पश्चिम नेपालमा फुटबल संस्कृतिको विकास र विस्तारका लागि सञ्चालन गरिएको प्रयास हो ।” उहाँले भन्नुभयो, “यसले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै व्यावसायिक फुटसल वातावरण निर्माण गर्न सहयोग पुर्याउनेछ ।”
उहाँका अनुसार बाँके जिल्लालाई खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो । यसले स्थानीय प्रतिभाको पहिचान, अनुशासन र खेलभावनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका सबै खेलहरू नेपाल फुटसल संघद्वारा निर्धारित व्यावसायिक मापदण्डअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी र पदक प्रदान गरिनेछ भने अन्य विधागत पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ ।
कार्यक्रम संयोजक रोशन महतराका अनुसार प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी गरिएको छ । उहाँले भन्नुभयो, “प्रतियोगिताका लागि टोली दर्ता प्रक्रिया सुरु भइसकेको छ । खेल सञ्चालनका साथै दर्शक व्यवस्थापन, सुरक्षाका उपाय तथा सहायक सेवा सुविधालाई विशेष प्राथमिकतामा राखिएको छ ।” उहाँका अुनसार इच्छुक टोलीहरूले बागेश्वरी फुटसल तथा खेलकुद केन्द्र र मान्भी खेलकुद गृह (क्यूएफएक्स हलभित्र) बाट दर्ता फाराम प्राप्त गर्न सक्नेछन् ।
सीमित संख्यामा टोली सहभागी गराइने भएकाले समयमै दर्ता गर्न आयोजकले आग्रह गरेको छ । गोलफेस्ट २०२६ ले पश्चिम नेपालमा फुटसल प्रतियोगिताको संस्थागत विकासमा टेवा पुर्याउँदै खेलकुद, सामाजिक एकता तथा युवा सशक्तीकरणका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
उक्त प्रतियोगिताले बाँकेसहित बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुरलगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट फुटसल टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत स्थानीय तथा क्षेत्रीयस्तरका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ ।






