रुपनी जि एम, बाँके । मोहम्मद ईश्तियाक राई ज्यू, तपाईं विकासप्रेमी नेता हुनुहुन्छ भन्ने विषयमा कुनै दुईमत छैन । तपाईंले निर्वाह गरेका सार्वजनिक जिम्मेवारीहरू, विकास निर्माणका क्षेत्रमा देखाएको सक्रियता तथा प्रशासनिक अनुभवलाई धेरैले स्वीकार गरेका छन् । तर राजनीति केवल विकासका आयोजना र निर्वाचन जित्ने गणितमा मात्र सीमित हुँदैन । राजनीति विचार, निष्ठा, योगदान, बलिदान र निरन्तर संघर्षको समग्र परिणाम हो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा, विशेषतः नेकपा एमालेजस्तो वैचारिक आधार, सङ्गठनात्मक अनुशासन र लामो संघर्षको इतिहास बोकेको पार्टीमा योगदानको मूल्य अत्यन्तै गहिरो र संवेदनशील विषय हो। वर्षौँदेखि पार्टीको झण्डा बोकेर “सात सूर्य सात छाप”को नारालाई छातीमा सजाउँदै जेल, आन्दोलन, बहिष्कार र अपमान सहँदै जीवन नै समर्पण गरेका कार्यकर्ता तथा नेताहरूको अस्तित्व नै पार्टीको मेरुदण्ड हो ।
यही सन्दर्भमा, आफैले जन्माएको वा लामो समयसम्म संलग्न रहेको पार्टी त्यागेर, चुनाव जित्ने उद्देश्यले मात्र अर्को पार्टीमा प्रवेश गर्नु र त्यही पार्टीको मूल संरचनामा रहेका, योगदान र त्याग गरेका नेताहरूलाई पन्छाएर उम्मेदवार बन्नु स्वाभाविक रूपमा गम्भीर प्रश्नको विषय बन्छ । पैसाको प्रभाव, बाह्य हैसियत वा तत्कालीन राजनीतिक गणनाका आधारमा पार्टीको मूल चरित्रमाथि हस्तक्षेप हुनु भनेको संगठनभित्र दशकौँदेखि पसिना बगाएका नेताहरूलाई बलि चढाउनु सरह हो ।
आगन्तुकका लागि राजनीति सहज हुन सक्छ । उनीहरूलाई दिइएको कुर्सीमा आएर बस्न धेरै कठिन हुँदैन । तर पार्टीका लागि सर्वस्व सुम्पिएका, जीवनको उर्जाशील समय आन्दोलनमा खर्चिएका र संगठन निर्माणमा खारिएका कार्यकर्तालाई उनीहरू बसिरहेको स्थानबाट उठाएर पर सार्नु राजनीतिक नैतिकताको दृष्टिले गम्भीर विषय हो । यसले लोभबाट लाभ र अन्ततः विलापतर्फ जाने मार्गलाई प्रश्रय दिन्छ ।
नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट तपाईंलाई उम्मेदवार घोषणा गरेको सन्दर्भमा यी प्रश्नहरू झनै सशक्त रूपमा उठेका छन् । यस निर्णयले पार्टीभित्र लामो समयदेखि क्रियाशील, स्थानीय तहदेखि संघर्ष गर्दै आएका र संगठनमा गहिरो पकड बनाएका नेताहरूको योगदानको मूल्य कहाँ राखिएको छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
यो प्रश्न कुनै एक व्यक्तिविरुद्ध लक्षित छैन । यो प्रश्न पार्टी पंक्तितर्फ लक्षित छ । के नेकपा एमाले अब विचार, योगदान र निष्ठाभन्दा बाहिरी प्रभाव, जितको सम्भावना र आर्थिक हैसियतलाई प्राथमिकता दिन थालेको हो ? के पार्टीले आफ्नै इतिहास, आफ्नै कार्यकर्ताको त्याग र आफ्नै संगठनात्मक मूल्यलाई कमजोर बनाउने दिशातर्फ कदम चाल्दैछ ?
यदि “सात सूर्य सात छाप” केवल चुनावी चिह्नमा सीमित हुँदै जाने हो भने, त्यसका लागि जीवन आहुति दिएका नेता–कार्यकर्ताको स्थान, भूमिका र भविष्यबारे पार्टीले स्पष्ट जवाफ दिनैपर्छ । नत्र योगदानको सट्टा अवसरवादलाई प्रश्रय दिने प्रवृत्तिले पार्टीलाई दीर्घकालीन रूपमा कमजोर बनाउने खतरा रहन्छ ।
राजनीतिमा जित महत्वपूर्ण हुन्छ, तर त्यो जित विचार, निष्ठा र संगठनमाथि टेकेर आएको हो कि तात्कालिक स्वार्थ र सम्झौतामाथि, भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ । यही प्रश्न आज नेकपा एमालेको ढोकामा उभिएर टिकटको लेनदेन गर्नेहरु प्रति तेर्सिएको छ ।






