बाँके, २८ पुसः बाँकेमा पहिलो पटक कृषि तथा पशुपालन क्षेत्रमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै छुर्पी उत्पादन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित नयाँ बस्तीमा पहिलोपटक व्यवस्थित रूपमा छुर्पी उत्पादन सुरु गरिएको हो । “मिल्क होलिडे” नहोस् भन्ने उद्देश्यले सुरु गरिएको छुर्पी उत्पादनले स्थानीय किसान, युवा तथा उपभोक्तामा आशा, उत्साह र आत्मविश्वास थपिएको छ ।
साथी स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्थाको नेतृत्वमा सञ्चालन भइरहेको यो उद्योगले दूध व्यवस्थापनको चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै स्थानीय उत्पादन, कृषि प्रवर्द्धन र स्वरोजगारको नमूना प्रस्तुत गरेको छ । बजारमा दूधको माग घट्दै जाँदा किसानहरूलाई ठूलो समस्या देखिँदै गएपछि दूध बिक्री हुन नसक्दा उत्पादन खेर जाने अवस्था सिर्जना हुँदै गएको थियो ।
यही परिस्थितिलाई गम्भीरतापूर्वक बुझ्दै सहकारीले दूध खरिद गरी छुर्पी उत्पादनको सुरुवात गरेको सहकारीका व्यवस्थापक मेघबहादुर खत्रीले बताउनुभयो । “बजारमा दूधको माग कम हुँदा किसानहरूको दूध खेर जाने अवस्था आयो । यही समस्यालाई समाधान गर्न हामीले दूध खरिद गरी छुर्पी उत्पादन सुरु गरेका हौँ ।” उहाँले भन्नुभयो । उहाँका अनुसार हाल सहकारीले दैनिक २ सय ५० देखि ३ सय लिटरसम्म दूध स्थानीय किसानहरूबाट खरिद गर्दै आएको छ ।
यही दूध प्रयोग गरेर दैनिक करिब सय लिटर बराबरको छुर्पी उत्पादन भइरहेको छ । “हामीले किसानबाट दैनिक ढाई सयदेखि ३०० लिटरसम्म दूध खरिद गरेर छुर्पी उत्पादन गर्दै आएका छौं ।ू उहाँले भन्नुभयो । ूहाल उद्योगमा दुई क्विन्टल छुर्पी स्टकमा रहेको छ ।” उत्पादन भएको छुर्पी प्रति केजी ८ सय रुपैयाँका दरले बिक्री भइरहेको छ । व्यवस्थापक खत्रीका अनुसार बजारमा छुर्पीको माग बढ्दै गएपछि सहकारीलाई आर्थिक रूपमा पनि सबल बनाउँदै लगेको छ ।
यो उद्योग ३० हजार रुपैयाँको प्रारम्भिक लागतबाट सुरु गरिएको थियो । सुरुमा सानो प्रयासका रूपमा थालनी गरिएको यो उद्योग विस्तारै व्यवस्थित संरचनामा परिणत हुँदै गएको छ । उत्पादन बढाउन र गुणस्तर सुनिश्चित गर्न आवश्यक मेसिनरी उपकरणहरू थपिँदै जाँदा हालसम्म करिब पाँच लाख रुपैयाँसम्म लगानी भइसकेको खत्रीले जानकारी दिंदै भन्नुभयो, “थोरै लगानीबाट सुरु गरिएको यो प्रयास आज करिब पाँच लाख रुपैयाँको उद्योगमा रूपान्तरण भएको छ, जुन हामी सबैका लागि गर्वको विषय हो ।”
छुर्पी उत्पादनमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ स्थानीय किसानहरूबाट नै संकलन गरिन्छ । यसले स्थानीय उत्पादनलाई प्रत्यक्ष रूपमा प्रोत्साहन गरेको छ । किसानहरूले उत्पादन गरेको दूधको सुनिश्चित बजार बनेको छ । “हामीले सकेसम्म स्थानीय सामग्रीलाई प्राथमिकता दिएका छौँ, जसले किसानहरूको उत्पादनलाई बजार सुनिश्चित गरेको छ र उनीहरूको आम्दानीमा स्थायित्व ल्याएको छ ।” उहाँले भन्नुभयो । यस उद्योगले युवाहरूका लागि पनि नयाँ अवसर सिर्जना गरेको उहाँको भनाइ छ ।
छुर्पी उत्पादनका लागि हाल चार जना स्थानीय युवाहरू प्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन् । गाउँमै रोजगारी पाउँदा उनीहरूमा उत्साह थपिएको छ । खत्रीले भन्नुभयो, “युवाहरूले आफ्नै गाउँमा काम पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो । यसले गाउँबाट शहरतर्फ हुने पलायन रोक्न मद्दत गरेको छ ।” प्रारम्भिक चरणमा भए पनि छुर्पीको बजार क्रमशः विस्तार हुँदै गइरहेको उहाँको भनाई छ । हाल गाउँघरका किराना पसल, विद्यार्थी र स्थानीय उपभोक्तामा यसको माग बढ्दै गएको छ ।
“छुर्पी नयाँ उत्पादन भएकाले विस्तारै यसको बजार बन्दै गइरहेको छ । नेपालगञ्ज ठूलो सहर भएकाले भविष्यमा यसको राम्रो बजार बन्ने विश्वास हामीले गरेका छौँ ।” उहाँले भन्नुभयो । यो प्रयासले दूध खेर जान नदिई स्थानीय स्रोतको सदुपयोग गर्दै आत्मनिर्भर कृषितर्फ महत्वपूर्ण योगदान पुर्याएको छ । किसानको उत्पादनको मूल्य सुनिश्चित हुनु, युवाले गाउँमै रोजगारी पाउनु र स्थानीय अर्थतन्त्र चलायमान हुनु यस उद्योगका प्रमुख उपलब्धि बनेका छन् ।
“छुर्पी उत्पादनले किसान, युवा र उपभोक्ता सबैलाई जोड्ने सेतुको काम गरिरहेको छ ।” उहाँले भन्नुभयो । नयाँ बस्तीबाट सुरु भएको यो उद्योग आज बाँके जिल्लाको कृषि उद्यमशीलताको प्रतीक बन्दै गएको छ । स्थानीय उत्पादनलाई आधार बनाएर सुरु गरिएको यो प्रयासले ग्रामीण अर्थतन्त्रलाई सबल बनाउँदै जिल्लाको समग्र विकासमा योगदान पुर्याइरहेको छ । भविष्यमा उत्पादन विस्तार, बजार प्रवर्द्धन र बाह्य बजारसम्म पहुँच पुर्याउने योजना सहकारीले बनाइरहेको छ । दूध संकटलाई अवसरमा बदल्दै सहकारीले गरेको छुर्पी उत्पादनको यो प्रयासले बाँकेका किसान र युवालाई आत्मनिर्भर बन्नमा थप सहयोग पुर्याएको छ ।






