रूपनी जि एम
बाँके, २८ पुस । मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो ।” यो भनाई हो बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ च्यामाका पृथ्वी बहादुर चौधरीको । आजभन्दा करिब पच्चीस वर्षअघि घर वरिपरि घुमिरहेका दुई चारवटा परेवा देखेर ती परेवालाई आफ्नै घरमा बस्ने ठाउँको बेवास्ता गरिदिएर सुरु भएको उहाँको यात्रा आज परेवा बिक्री गरेकै कारण आत्मनिर्भर बनेर परिवारको भविष्य उज्यालो भएको उहाँको भनाइ छ ।
परेवाप्रतिको संवेदनाबाट जन्मिएको यो सम्बन्ध आज उहाँको जीवनको आधारशिला बनेको छ । जसले पृथ्वी चौधरीलाई गाउँमै एउटा आत्मनिर्भर कृषक उद्यमीका रूपमा स्थापित गरेको छ । उहाँका अनुसार सुरुमा परेवा पाल्ने कुनै योजना उहाँसँग थिएन । घर वरिपरि बस्न ठाउँ नपाएका परेवा देख्दा मानवीय संवेदनाले उहाँलाई छोयो र आफ्नै घरछेउमा सानो बासस्थान बनाइदिएको उहाँको भनाई छ । त्यसपछि ती परेवा आफै उहाँकै घरमा बस्न थाले र समयसँगै तिनको सङ्ख्या बढ्दै गयो । परेवाको सङ्ख्यासँगै पृथ्वीको जिम्मेवारी, अनुभव र आत्मविश्वास पनि विस्तार हुँदै गयो । आज उहाँको घरमा परेवाको ठूलो बथान छ । जसले केवल घर आँगन भरेको छैन, परिवारको भविष्य पनि सुरक्षित बनाएको छ ।
हिन्दु धर्मशास्त्र अनुसार जहाँ परेवाहरुले बास गर्छन्, त्यस्तो घरमा शुभ लक्षण रहने, सुख–शान्ति बस्ने र परिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुने विश्वास गरिन्छ । विश्वभर परेवा शान्तिको दूतका रूपमा पनि चिनिन्छन् । यही सांस्कृतिक र धार्मिक मान्यताले पृथ्वी चौधरीको परेवा प्रतिको सम्मान र समर्पणलाई अझ गहिरो बनाएको उहाँको भनाइ छ । परेवाले केवल रोजगारी मात्र होइन, घरभित्र शान्ति र सन्तुलन पनि ल्याइदिएको छ । परेवाले उहाँको जीवनमा ल्याएको परिवर्तन भावनात्मक मात्र नभई आर्थिक रूपमा अत्यन्त महत्वपूर्ण पनि छ ।
पृथ्वीका अनुसार सिजनको एक पटकमा जोडी परेवा पाँचसय देखि आठसय रुपैयाँसम्म बिक्री हुन्छ । विशेषगरी संकटकालमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारहरू परेवा किन्न आएको उहाँले बताउनुभयो । उक्त समयमा एक सिजनमै पैंतालीसदेखि पचास हजार रुपैयाँसम्म आम्दानी भएको पनि उहाँको भनाइ छ । यही आम्दानीले उहाँको घरखर्च, छोराछोरीको पढाइ, स्वास्थ्य उपचार र दैनिकी सहज बनेको छ ।
साउन र भदौ महिनामा चारोको अभाव हुँदा पृथ्वीले परेवाका लागि विशेष आहार आफै तयार गर्नुहुन्छ । ूमसुरोको दाना जस्तै देखिने अकडाको चारो छतभरि छरेर त्यो दुई महिना परेवालाई खुवाउने गरेको छु ।ू उहाँले भन्नुभयो ।, उक्ता दानाले परेवाको स्वास्थ्य राम्रो राख्नुका साथै उत्पादन पनि बढाएको उहाँको अनुभव छ । जाडो महिनामा परेवाको मासु शरीर तताउने विश्वासका कारण धेरै जसो परेवा किन्न आउनेको संख्या जाडो महिनामा नै बढी हुने पनि उहाँको भनाइ छ । ूमन्दिरमा पूजा वा भाकल गर्न, चाडपर्व मनाउन र विशेषगरी सुत्केरी महिलाहरूका लागि परेवा किन्न आउनेहरूको सङ्ख्या उल्लेख्य बढ्ने गर्दछ ।ू उहाँले भन्नुभयो । उहाँका अनुसार यसै कारणले पनि आम्दानीलाई स्थायित्व दिएको छ ।
उहाँले परेवा पालादेखि नै परेवाको मल आफ्नै खेतबारीमा प्रयोग गर्दै आएको पनि बताउनुभयो । परेवाको मलले बाली उत्पादनमा सकारात्मक प्रभाव पारेको छ । यसरी परेवा उहाँका लागि आम्दानीको स्रोत मात्र नभई खेतीपातीमा सहायक माध्यम पनि बनेका छन् । सुरुमा बिक्री गर्ने कुनै सोच नराखेका पृथ्वीले दुई पटक परेवा बेचेर हातमा पैसा आएपछि मात्र यसको व्यावसायिक सम्भावना बुझेको र त्यसपछि परेवा पालनलाई व्यवस्थित रूपमा अगाडि बढाएको बताउनुभयो ।
आज परेवाबाट भएको आम्दानीले पृथ्वी चौधरीको परिवार आर्थिक रूपमा सशक्त बनेको छ । उहाँका अनुसार छोराछोरीको पढाइ, घरको खर्च र भविष्यको योजना सबै यही परेवाले धानेको छ । ूवर्षमा करिब दुई महिना मात्र घरको दाना खुवाउनुपर्छ, बाँकी समय परेवा बिहान उडेर नेपालगञ्जका ठूला उद्योग क्षेत्रमा दाना खान जान्छन् र बेलुका बथानका साथ आफ्नै घर फर्किन्छन् ।ू उहाँले भन्नुभयो, ूत्यो दृश्य मेरा लागि केवल सौन्दर्य होइन, जीवन सङ्घर्षको प्रतिफल हो ।ू
पृथ्वी बहादुर चौधरीको जीवन परेवासँग गहिरोसँग गाँसिएको छ । “बाँचुन्जेल परेवाकै सेवा गर्छु, मेरो परिवार नै यिनीहरू हुन् । मैले जानेकै यही भयो, जीवन नै परेवाको समर्पणमा बित्यो ।” बिहान उडेर गएका परेवा बेलुका सबै फर्केर आउँछन् कि आउँदैनन् भनेर दिनभरि कुरी बस्ने उहाँ बताउनुहुन्छ । मन्दिरमा भाकल गरेका मानिसहरूले बाँके जिल्ला बाहिर अन्यत्र जिल्लामा लगेर उडाएका परेवासमेत आफ्नै घर सम्झेर फर्केर आउने गरेको पनि उहाँले बताउनुभयो । कहिलेकाहीँ आफूले बेचिसकेको परेवा पनि घर फर्केर आइदिँदा मन कताकता भावुक हुने, अनौठो खुसी लाग्ने उहाँको भनाइ छ ।
परेवाले बच्चा निकालेको १५ देखि २१ दिनभित्र त्यसलाई खान मिल्छ । बिहान चर्न गएका परेवालाई बाज र चिलले झम्टेर खाइदिन्छ कि भन्ने पिर सधैँ रहने उहाँले बताउनुभयो । यसका साथै परेवाको भाले–पोथी छुट्याउन सजिलो नहुने तर संसर्गको बेला भालेले नाच्न थालेपछि मात्रै भाले परेवा चिनिने उहाँले २५ वर्षको अनुभवमा आफूले बुझेको बताउनुभयो । परेवा र पृथ्वी चौधरीबीच गहिरो भावनात्मक सम्बन्ध छ । उहाँका छोराछोरी परेवासँगै हुर्किएका छन् । पृथ्वीले भन्नुभयो “परेवा बिना यो घर सुनसान लाग्छ ।” परेवाले उहाँलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाएको छ । विपन्न अवस्थाबाट सुरु भएको जीवन आज सम्मानजनक, स्थिर र आत्मनिर्भर बनेको छ ।
पृथ्वी बहादुर चौधरी आज परेवा पालनबाट मासिक २५ देखि ३० हजार रुपैयाँसम्म नियमित आम्दानी गरिरहेको बताउनुहुन्छ । चाडपर्व, जाडो मौसम र धार्मिक सिजनमा भने आम्दानी अझ बढ्ने उहाँको अनुभव छ । “सिजनमा परेवा बेचेर ५० हजारदेखि ५५ हजार रुपैयाँसम्म पनि कमाएको छु ।” उहाँले भन्नुभयो, ूयही स्थिर आम्दानीले मेरो परिवारलाई सुरक्षित बनाएको छ र परेवाले नै मेरो जीवनको आधारस्तम्भका रूपमा मलाई स्थापित गरेको छ ।ू
कुनै समय खुला आकाशमा उड्दै बासको खोजीमा भौतारिएका दुई जोड परेवाले आज पृथ्वी बहादुर चौधरीको जीवनलाई आर्थिक रूपमा धेरैमाथि उठाएको छ । परिवारसँगको उनको भावना मोह र संवेदनाबाट सुरु भएको यात्राले आत्मनिर्भरको जगलाई निर्माण गरेको छ । परेवाले उहाँको को जीवन बदलिदिएको छ र एउटा साधारण किसानलाई उद्यमीका चिनाएको छ ।






