बाँके, नेपालगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शान्तिपूर्ण आन्दोलनलाई हिंसातर्फ मोड्ने क्षमतास्थित नवयुवामा नभई त्यो गतिविधि योजनाबद्ध रूपमा गराइएको बताउनु भएको छ । नेकपा एमाले बाँके जिल्ला कमिटीद्वारा नेपालगञ्जमा शनिबार आयोजित जनप्रदर्शन र जनसभालाई सम्बोधन गर्दै पोखरेलले भदौ २४ गते देशभर देखिएको विध्वंशमा संलग्न व्यक्तिहरू योजनाबद्ध रुपमा परिचालित भएको बताउनुभएको थियो ।
महासचिव पोखरेलले विध्वंशमा संलग्न व्यक्तिहरूको पहिचान गरी कठोर कारबाही गर्न सरकारप्रति माग गर्नु भएको छ । उहाँका अनुसार भ्रष्टाचार अन्त्य तथा सामाजिक सञ्जाल स्वतन्त्र प्रयोगका पक्षमा चलिरहेको जेनजी अभियानलाई मानव ढालजस्तै प्रयोग गरी समूह विशेषले तोडफोड र अराजकता मच्चाएको छ ।
उहाँले वर्तमान सरकारले चुनावका लागि आवश्यक वातावरण निर्माण गर्न असफल भएको दाबी गर्दै, भदौ २३ र २४ का घटनाका दोषीलाई कारबाही नगरेसम्म, प्रहरीबाट लुटिएका हतियार फिर्ता नगरिएसम्म र फरार कैदीबन्दी समातिन नसकेसम्म चुनावी माहोल तयार नहुने बताउनुभयो ।
सरकारलाई षड्यन्त्रकारी तत्वहरूको एजेन्डा पूरा गर्ने भूमिकामा पुगेको आरोप लगाउँदै पोखरेलले एमाले सबै प्रकारका षड्यन्त्र सामना गरेर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त जनसभामा हुनु पुर्व नेपालगञ्जका विभिन्न क्षेत्रमा विशाल र्याली निकालिएको थियो ।






