बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वार्ड नं. ९ को महादेव र सोही पालिकाको वार्ड नं. २ कचनापुरमा रहेको धानखेतमा भेटिएको मगर गोही र अजिंगरको सकुशल उद्धार गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारीहरुद्धारा उक्त मगर गोही र अजिंगरलाई सुरक्षित स्थानमा छाडेर सकुशल उद्धार गरिएको हो ।
स्थानीयले बाँके राष्ट्रिय निकुञ्जलाई खबर गरेपछि प्राविधिक कर्मचारीहरूको उद्धार टोली घटनास्थलमा पुगेर गोही र अजिंगरलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य जाँच गरेको निकुञ्ज प्रमुख विरेन्द्र कडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिईएको उक्त गोहीलाई सिक्टा खोला र राप्ती नदीको दोभानस्थित राप्ती सोनारी–१ क्षेत्रमा सुरक्षितरूपमा छाडिएको छ ।
निकुञ्ज प्रमुख कंडेलले नियन्त्रणमा लिईएको अजिंगरलाई पनि निकुञ्ज भित्रको ओभरहीरि बनपथमा रहेको पानी पोखरी नजिकको प्राकृतिक वासस्थानमा सुरक्षितरूपमा छाडिएको बताउनुभयो । उहाँका अनुसार उक्त गोहीको लम्बाई ६ फिट रहेको र वेट ८० केजी रहेको थियो ।
स्थानीय रामबहादुर कार्कीका अनुसार नदीमा देखिने गोही किसानको खेतमा देखिएको थियो । “म खेतमा काम गर्दै थिएँ । अचानक ठूलो मगर घोरियल देखेँ । डर त लागेको थियो । तर निकुञ्जलाई खबर गरेपछि त्याहाँबाट प्राविधिक टोली आएर तुरुन्त नियन्त्रणमा लिएर गोहीलाई उस्कै बासस्थानमा छाडिएको हो ।”
त्यसैगरी, सोही गाउँपालिकाको वार्ड नं २ मा स्थानीयले पालिरहेको कुखुराको खोर नजिकको धान खेतमा पनि करिब १० फिट लामो अजिङ्गर देखा परेको थियो । झण्डै २० केजी रहेको उक्त अजिङ्गरलाई बाँके राष्ट्रिय निकुञ्जकै प्राविधिक कर्मचारी टोलीले उद्धार गरी निकुञ्ज भित्रको ओभरहीरि बनपथमा रहेको पोखरी नजिकको प्राकृतिक वासस्थानमा सुरक्षितरूपमा छोडेको निकुञ्ज प्रमुख कंडेलले बताउनुभयो ।
उद्धार टोलीका प्रमुख प्रविधिक अधिकारीले भन्नुभयो,“हामीले स्थानीयवासीको सहयोगमा अजिङ्गरलाई नियन्त्रणमा लिएर उसैको प्राकृतिक वासस्थानमा छोडेका छौं ।” उहाँले भन्नुभयो,“हामी स्थानीयहरुको सहयोग र सतर्कताले अजिंगरको उद्धार प्रक्रिया सहज भएको हो ।”
स्थानीयवासीहरूले पनि उद्धारको दृश्य प्रत्यक्ष देख्दा राहत महसुस गरेका थिए । धेरैले जंगल र नदी नजिक वन्यजन्तु भेटिएमा निकुञ्जसँग तुरुन्त जानकारी दिनु पर्ने रहेछ भन्ने कुराको जानकारी भएको बताएका थिए । 






