रुपनी जि एम
बाँके नेपालगञ्ज, आज पहिलो पटक देशको प्रधानमन्त्रीलाई तिमी भनेर सम्बोधन गर्दा, औपचारिकताको सीमाबाट म एक पाइलो टाढा गइसकेको महसुस गर्दैछु । तर योसँगै, यो सम्बोधनमा आत्मीयता, अपनत्व र सम्बन्धको गहिराइ मिसिएको आभाष पनि गर्दैछु । किनभने तिमी केवल प्रधानमन्त्री होइनौ—तिमी त देशको आँखाबाट आँसु पुछ्ने हात हौ, जनताको घाउमा मलम लगाउने ममता हौ, अनि राष्ट्रको कठोर यथार्थलाई बुझ्ने संवेदनशील हृदय हौ ।
देशका राजनीतिक परिवर्तनहरूले थुप्रै पाटो फेरिए, तर कहिल्यै सोचिएको थिएन कि एउटी महिला, त्यो पनि स्थापित राजनीतिक वंश वा संरचना बाहिरकी, राष्ट्रको बागडोर सम्हाल्नेछे । इतिहासका पानामा पुरुषहरूको वर्चस्वले भरिएको प्रधानमन्त्रीको सूचीमा जब तिमीको नाम थपियो, त्यो केवल एउटा व्यक्ति पदासीन भएको खबर थिएन—त्यो त भविष्यले एक नयाँ युगको सुरुवात भएको संकेत थियो ।
तिमी राजनीतिमा आउन बाध्य भयौ—किनभने देश अभिभावकविहीन अवस्थामा डुबिरहेको थियो । जनताले नेतृत्वको आशा गरेका पात्रहरू पछि हट्दै जाँदा, जनताको विवश आँखामा निराशाको छाया बाक्लिँदै गएको थियो । जब जनताले युवापुस्ताको आशा बालेन्द्र शाहमा देखेका थिए, तर उनी पछि सरे, त्यो क्षणमा तिमी नढटिकन, नडराई, अग्रसर भयौ ।
तिमी वैकल्पिक थियौ, विकल्पहरूको अभावमा आएको जस्तो देखिन सक्थ्यो । तर वास्तवमा, तिमी त्यो शक्ति थियौ जुन सधैं मौनतामा उपस्थित थियो—तर नदेखिएको, नबोलाइएको । आज देशले त्यो मौन शक्तिलाई बोलायो, र तिमीले जब राष्ट्रको जिम्मेवारी काँधमा लिइराख्यौ, त्यही क्षण तिमी आमाजस्तै भयौ—देशकी आमा ।
बुबा कहिलेकाहीं परिस्थितिमा साथ छोड्छन्, तर आमा भने कहिल्यै टाढा हुदिन। आमा रोएर पनि सन्तानको आँसु पुछ्छे । आफू रित्तिएर पनि सन्तानलाई पूर्ण बनाउन खोज्छे । तिमीले त्यही गर्यौ—देशको गहिरो पीडालाई आफ्नै सपना बनाएर अघि बढ्यौ ।
तिमीलाई देशले केवल सम्मान दिएको छैन, उसले तिमीमा भविष्यको भर देखेको छ । अनि आज देशको हरेक कुनामा तिमीमाथि विश्वासले भरिएको छ—केटाकेटीदेखि वृद्धसम्म, गाउँदेखि शहरसम्म, मधेसी, पहाडी, आदिवासी, जनजाति, महिला, पुरुष सबैले एउटै स्वरमा भनेका छन्, “हामीसँग आमा छिन् ।”
देश अब नयाँ मार्गमा हिँड्दैछ । राजनीतिको गन्दगी, भ्रष्टाचार, स्वार्थको राजनीतिले आमजनको मनमा वितृष्णा फैलाएको बेला तिमी ताजा हावाको झोंका भएर आएकी छौ । तिमी राजनीतिमा सफा भावनाको प्रतिनिधि हौ । तिमीले नारा होइन, दृष्टिकोण बोकेर आएकी छौ । सत्ता होइन, सेवा बोकेर आएकी छौ ।
तिमीमाथि अब असंख्य उत्तरदायित्वहरू छन् । तिमीले अब केवल सरकार होइन, विचार चलाउनु पर्छ । देशका ऐतिहासिक, सांस्कृतिक संरचनाहरूको संरक्षण, आर्थिक समृद्धिका बाटाहरूको पहिचान, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा सुधार, र विशेषगरी युवाहरूलाई देशप्रति जिम्मेवार बनाउने कार्य तिमीबाट अपेक्षा गरिएको छ ।
देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डता तिमीले जोगाउनु पर्छ । कूटनीतिक धरातलमा विवेकपूर्ण निर्णय गरेर देशको गरिमा बढाउनु पर्छ। तिमीलाई हामीले केवल आजका लागि होइन, भोलिका लागि पनि चुनेका छौं ।
सत्य यो हो कि सबै सन्तान आज्ञाकारी हुँदैनन् । कतिपयले आफ्नै आमालाई चोट दिन सक्छन् । उनीहरू आलोचना गर्छन्, प्रश्न गर्छन्, कहिलेकाहीं अपमानित पनि गर्छन् । तर एउटा आमाको हृदय त विशाल हुन्छ—विरोधका शब्दभन्दा गहिरो प्रेम, अनि आशीर्वादका स्वरहरू सधैं बलिया हुन्छन् । तिमीलाई पनि सायद ती पीडाका भागीदार बन्नु पर्ला । तर तिमी कमजोर नहुनु—तिमी रुन पाउँदिनौ, किनकि तिमी सम्पूर्ण राष्ट्रकी आमा बनिसकेकी छौ ।
अब तिमीलाई हेरेर धेरै छोरीहरूले सपना देख्न थालेका छन्—प्रधानमन्त्री बन्ने सपना, राष्ट्रको भविष्य निर्माण गर्ने सपना । उनीहरूको प्रेरणा तिमी हौ। तिमी सफल भयौ भने, लाखौं छोरीहरूको साहसलाई जीवन मिल्नेछ । अनि देशको राजनीति पनि मानवता र ममतालाई समेट्नेछ ।
आज जुन ऐतिहासिक खुसी छाएको छ, त्यो केवल राजनीतिक परिवर्तन होइन—त्यो त सोच, दृष्टिकोण र संस्कारको क्रान्ति हो । तर यस खुसीलाई टिकाइराख्न तिमीले गम्भीर सङ्घर्ष गर्नु पर्छ। देशका दुश्मनहरू बाहिरमात्र छैनन्, भित्र पनि छन् । स्वार्थी सोच, परम्परावादी मानसिकता, अनि भ्रष्ट संरचनासँग तिमीले निरन्तर लड्नु पर्छ ।
तर तिमी एक्ली छैनौ । तिमीका साथ छन् युवाहरूका निडर स्वरहरू, विवेकशील नागरिकहरूको विश्वास, अनि गोर्खाली वीर सन्तानहरूको आँट । तिमी देशका सपना बोकेर उभिएकी छौ—त्यो सपनामा अब तिमीले मात्र होइन, हामी सबैले साथ दिनुपर्छ ।
यो पद केवल राजनीतिक होईन, यो त ऐतिहासिक हो । तिमी केवल एक प्रधानमन्त्री होइनौ—तिमी परिवर्तनको प्रतीक हौ । एउटा नारी, जसले समाजलाई सिकाइ दिइ, “हिम्मतले कहिल्यै पनि लिङ्ग हेर्दैन ।” तिमीले महिला मात्र होइन, समग्र राष्ट्रका लागि मार्ग देखाइदियौ—विवेक, ममता र दृढताको मार्ग ।
तिमीले जब देशलाई काखमा च्यापेर हिड्यौ, त्यही क्षण यो देशले पहिलो पटक प्रधानमन्त्रीको कुर्सीमा केवल एक नेता होइन, एउटा आमालाई देख्यो । अनि त्यो आमाको आँखाबाट टल्किएको आँसु—नट वीकनेस र पावर थियो । देशलाई अब तिमीले मात्र अघि बढाउने होइन, तिमीले नेतृत्व गर्ने बाटोमा अब लाखौं पाइला पनि लाग्नेछन् ।
तिमी साँचै सफल भयौ भने, अब कहिल्यै कसैले भन्न सक्दैन, “राजनीति महिलाको कुरा होइन ।” अब राजनीति त्यो भूमि हुनेछ, जहाँ ममता र विवेक सँगै सन्चालित हुनेछ । र अन्त्यमा, यदि कहिले तिमी थाक्यौ, निराश भयौ, हार्ने महसुस गर्यौ—त्यो बेला आफैंलाई सम्झाउनु— “म त राष्ट्रकी आमा हुँ, थाक्न मिल्दैन।”






