बाँके । बाँकेको नेपालगञ्जमा “नेपालगन्ज फोटो फेस्टिवल” को चौथो संस्करण शुरु भएको छ । अन्तराल नेपालगन्जको आयोजनामा सुरु भएको उक्त फोटे फेस्टिवल फेस्टिवलको प्रमुख अतिथी, प्रतिनिधी सभाका सांसद किशोरसिंह राठौरले उद्घाटन गर्नु भएको थियो ।
राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरबाट सहभागी फोटोबाट छानिएका १ सय ११ फोटो प्रर्दशनीमा राखिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भएको छ । उहाँका अनुसार बाँके, बर्दिया सहित देशभरका सांस्कृतिक, पर्यटन, कृषि लगायतका ९ विधामा विविधता झल्कने फोटोहरु उक्त फोटो फेस्टिबलमा राखिएका छन् ।
एउटै थलोमा देशै भरीका उत्कृष्ट फोटो हेर्ने अवसर मिलेको बताउँदै अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो, “निशुल्क रुपमा फोटो हेर्ने व्यवस्था मिलाएका छौं । यहाँ देशैभरीका फोटोहरु हेर्न पाईन्छ ।” हिमाल, पहाड र तराईलाई समेटेर फोटो छनौट गरिएको जानकारी दिंदै कार्यकारी शाहले फोटो फेस्टिवलमा फोटो प्रर्दशनीसँगै दुई दिने फोटोग्राफी तालिम पनि सन्चालन हुने बताउनु भयो ।
प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघीय राजधानी काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ ।
यस्तै टप ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्ने छन् भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा इसेवामा गएर भोट गर्न सकिनेछ । यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ ।
हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यस वर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदान(प्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने भएको छ । नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको हो । बुधबार विहान ११ बजेदेखि शुरु भएको फोटो फेस्टिबल बेलुका साँझ ७ बजेसम्म र ५ गते विहान (बिहीबार) ७ बजेदेखि साँझ ७ बजेसम्म फोटो अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।






