बाँके । बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि राजश्व संकलनको प्रभावकारिता र ब्यवस्थापन बिषयक २ दिने तालिम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा शुक्रबार सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।
समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले तालिमबाट स्थानीय सरकार सञ्चालनका बिविध आयामहरुको बारेमा आफुलाई थाहा भएको बताउनुभयो । तालमिबाट सबैलाई उत्प्रेरणा र उर्जा मिलेको बताउँदै तालिममा प्रस्तुत भएका विषयवस्तुलाई आत्मसाथ गरी काम गर्न सकेको खण्डमा जनताको मनजितिने उपप्रमुख सुवेदीको भनाइ थियो ।
जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीले तालिमबाट जनप्रतिनिधि र कर्मचारी रोलमोडल भएर काम गर्नुपर्ने सिपको सिकाइ भएको बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीहरु बिच नङ्ग र मासुको सम्बन्ध स्थापति गरी नगरको विकास गर्नुपर्ने सन्देश तालिमबाट प्राप्त भएको कार्कीको भनाइ थियो ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले स्थानीय सरकार सञ्चालन र राजश्व बृद्धीको विविध आयामहरुको बारेमा तालिमबाट धेरै काम लाग्ने कुरा सिकेको बताउनुभयो । वडा नं. १० का वडा अध्यक्ष गौरा कुमारी अधिकारीले यस्तो प्रकारको तालिम पहिलो पटक पाएको भन्दै तालिमले जीवनोपयोगी सिप र कार्य सम्पादनका विविध विषयको बारेमा जानकारी मिलेको र उर्जा थपिएको विचार व्यक्त गर्नुभयो ।
तालिमबाट जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउँदै स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने बिविध विषयमा सिकाइ भएको तालिमका सहभागिहरुको भनाइ थियो । तालिममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ६० जनाको सहभागिता रहेको थियो ।
नगर उपप्रमुख संगिता सुवेदीको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले राजश्व परामर्श समितिको काम, कर्तव्य, अधिकार तथा कोहलपुर नगरपालिकाको राजश्व असुली क्षमताको पहिचान, राजश्वका क्षेत्रहरु, जीवन रुपान्तरणका सूत्रहरु, स्थानीय सरकार संचालन सम्बन्धी कानूनहरुको जानकारी, सुशासन, सूचनाको हक
पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीकामा हुनुपर्ने असल गुर्ण, नगरसभा र बैठक सञ्चालन प्रक्रिया, सकारात्मक सोच, उत्प्रेरणा, स्थानीय सरकारले गर्नुपर्ने काम, असल अभ्यासहरु, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, स्थानीय सरकारका आर्थिक स्रोतका क्षेत्र लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
तालिमको सञ्चालन बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गर्नु भएको थियो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुरमा वर्माले तालिमका सहभागिहरुलार्इ स्वागत गर्नु भएको थियो ।










