बाँके । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन चुनौती दिएका छन् । शर्माले निर्वाचनबाट दुई तिहाई ल्याई संविधान संशोधन गरेर राजसंंस्था फर्काउन चुनौती दिएका हुन् ।
नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई आज नेपालगञ्ज १४ भवानियापुरस्थित सिटी हलमा सम्बोधन गर्दै महामन्त्री शर्माले आफ्नै कर्मले राजाको बिदाई भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने बताए । “आफू चुनाव लड्न नआए अरुलाई उठाएर दुई तिहाई सांसद जित्नुस्, संविधान संशोधन गर्नुस् अनि राजसंस्था फर्काउनुस् ।” उनले भने ।
महामन्त्री शर्माले पार्टीको महाधिवेशन २०८३ असोज भित्रै हुने बताउँदै २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे । शर्माले पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अब अन्तर विश्वासको नवीन कांग्रेस बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई आह्वान समेत गरे ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता कार्यकर्ता इमान्दार र अनुशासित भए मात्रै पार्टी मजबुत बन्ने बताए । उनले केही भएको छैन भन्ने भाष्य बनाउन खोजिएको भन्दै त्यसमा सत्यता नभएको जिकिर गरे ।
केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान संशोधनको एजेण्डा बोके पनि त्यसतर्फ केन्द्रित हुन नसकेको टिप्पणी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी लगायतका विषयमा गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा जिल्ला सभापति नारायण प्रसाद गौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन पारित भएको छ ।
सोही क्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस बाँके तथा नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो समेत विमोचन गरेका थिए । सम्मेलनमा जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।






