बाँके । नयाँ वर्ष २०८१ को पुर्वसन्ध्यामा होटल सिद्धार्थले ‘विशेष सांगितिक कार्यक्रम’ को आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन मार्फत होटेल पुर्वसन्ध्यामा होटल सिद्धार्थले विशेष सांगितिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।
२०८१ सालको अन्तिम दिन भोली बेलुका होटलको प्राङ्गनमा पश्चिम नेपालको सांगितिक इतिहासमा पहिलो पटक देशभरी लाखौंको मन जितिसकेको चर्चित ब्याण्ड ‘छेवाङ एण्ड द क्रेटर्स’ ले धमाकेदार लाईभ प्रस्तुती दिन लागेको सिद्धार्थ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले जानकारी दिनुभयो । नयाँ वर्षलाई विशेष बनाउन होटलले विभिन्न शाखामा कार्यक्रम गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।
नेपाली नयाँ वर्ष मनाउने सँस्कृतिको विकास गर्न भारतसम्म पनि प्रचार–प्रसार गरिएको उहाँको भनाई थियो । ‘अंग्रेजी नयाँ वर्ष जसरी नै नेपाली नयाँ वर्षलाई पनि महत्वका साथ नेपालीहरुले मनाउनु पर्छ भन्ने उद्येश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।” उहाँले भन्नुभयो,“नेपाली नयाँ वर्षलाई अंग्रेजी नयाँ वर्षभन्दा बढी प्राथमिकतामा राखेर नेपाली कलाकारलाई अघिल्लो पटक भन्दा राम्रा कलाकार ल्याएका छौं ।”
कार्यक्रमको अन्त्यतिर नेपालको चर्चित महिला डिजे ‘डिजे पिजा’ को करिव २ घण्टा लामो प्रस्तुति रहने होटलले जनाएको छ । उक्त कार्यक्रमलाई अवलोकन गर्न वयस्कका लागि २ हजार रुपैयाँ र ५ देखी १२ वर्ष भन्दा कम उमेरका बालबालिकाको लागि १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क राखिएको पत्रकार सम्मेलन मार्फत होटेल सिद्धार्थका जनरल म्यानेजर बद्रि कोईरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रममा टिकट काटेका मध्येबाट एक जना विजेतालाई आर्कषक पुरस्कारको ब्यवस्था गरिएको छ । पारिवारीक वातावरणमा नयाँ वर्ष मनाउने ब्यवस्था मिलाएको जनरल म्यानेजर कोईरालाले बताउनुभयो । नयाँ वर्षको अवसरमा दर्शकमाझ विशेष कार्यक्रम पस्किने जमर्को गर्दै खानपिन, मनोरञ्जन र पर्याप्त सुरक्षा ब्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
‘चेवाङ एण्ड द क्रेटर्स’ ले ‘जाउँ हिड कान्छी’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘कस्तो माया तिमीसँगै बस्यो’ लगायतका दर्जनौं चर्चित गितहरु प्रस्तुत गर्दै दर्शकलाई नचाउने सिद्धार्थका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले जानकारी दिनुभयो । सांगितिक कार्यक्रममा स्थानीय प्रतिभालाई पहिलो प्राथमिकता दिइने पनि उहाँले बताउनुभयो ।
भट्टका अनुसार कार्यक्रमको सुरुवात नेपालगन्जकै स्थानीय ब्याण्डबाट हुनेछ । ‘द समय ब्याण्ड’ लगायतका स्थानीय प्रतिभाहरुले सांगितिक माहोल तताउनेछन् । यसैगरी स्थानीय कलाकारहरुद्धारा साँस्कृतिक नृत्य र प्रस्तुती पनि रहनेछ । जसले कार्यक्रममा मौलिकता र क्षेत्रीयताको मिठास थप्ने अपेक्षा गरिएको छ ।






