बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्ना महामन्त्री र उपाध्यक्षलाई थुनामा राखेको विरोधमा स्थानीय प्रशासनसंग अनुमति विनै चक्का जाम गर्न लागेको छ । आज बाँकेको कोहलपुरलाई केन्द्र बनाएर राप्रपा नेपालले चक्का जाम गर्न लागेको हो ।
उता प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राप्रपा बाँकेले आज गर्न लागेको आन्दोलनको विषयमा कुनै पनि आधिकारी जानकारी नगराएको बताउनु भएको छ । “उहाँहरुले हामीलाई कुनै पनि आधिकारीक जानकारी गराउनु भएको छैन ।” प्रजिअ जोशीले भन्नुभयो,“कुनैपनि आन्दोलन र धर्ना गर्नको लागी पनि आधिकारीक सूचना वा जानकारी प्रशासनलाई गराउनु पर्ने हुन्छ । त्यो राप्रपाले गराएको छैन ।”
आधिकारीक जानकारी बिना नै गरिएको आन्दोलनको क्षतिको जिम्मेवारी कस्ले लिने रु भन्दै प्रजिअ जोशीले भन्नुभयो,“शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार हुन्छ । तर आज कोहलपुर क्षेत्रमा कुनै पनि हालतमा चक्काजाम हामी गर्न दिंदैनौं ।”
कोहलपुरमा बाटो बन्द र चक्काजाम गरेर सडक अवरुद्ध गर्ने ६ जना पुरुषलाई गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । “आन्दोलनकारीले बाटो बन्द गरेर सडक अवरुद्ध गर्ने क्रममा हामीले ६ जनालाई गिरफ्तार गरेका छौं ।” ईलाका ईन्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले भन्नुभयो,“कुनैपनि हालतमा यहाँ सडक अवरुद्ध हुनेछै ।”
कोहलपुरमा बिहान ८ बजेदेखि राप्रपा नेपालले आन्दोलन गर्ने तयारी गरेको हो । चैत्र १५ गते भएको हिंसात्मक आन्दोलनमा राप्रपाका महामन्त्री धवल शम्शेर राणा र उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीले गिरफ्तार गरेको थियो । महामन्त्री र उपाध्यक्षको रिहाईको माग गर्दै राप्रपा नेपाल बाँकेले आज चक्काजाम सहीतको आन्दोलन गर्ने प्रयास गरेको छ ।






