काठमाण्डौ । काठमाण्डौ तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं निकट एक युवक पक्राउ परेका छन् । शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले दुर्गा प्रसाईंनिकट महेन्द्रराज भण्डारीलाई पक्राउ गरेको परिसरका प्रवक्त एसपी अपिलराज बोहराले जानकारी दिए ।
भण्डारीलाई बालाजुबाट पक्राउ गरेको उनले बताए । ुप्रसाईंका सहयोगी हुन्, शुक्रबारको आन्दोलनमा दुर्गा प्रसाईंसँगै गाडीमा हिँडेका थिए,ु एसपी बोहोराले भने । दुर्गा प्रसाईं भने फरार छन् । उनको खोजी भइरहेको पनि एसपी बोहराले जानकारी दिए ।
प्रसाईंका अर्का निकटस्थ धर्मगुरू पुस्कर खतिवडा पनि शनिबार नै पक्राउ परेका थिए । उनलाई ललितपुर प्रहरी परिसरको टोलीले उनकै घरबाट पक्राउ गरेको थियो । शुक्रबार राति तीनकुनेबाट भागेका प्रसाईं धर्मगुरूसँग उनकै घर पुगेको पनि खुलेको छ ।
प्रसाईंसहित शुक्रबारको प्रदर्शनमा सहभागी भएकाहरूको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लाका प्रहरीसहित अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ । तीनकुने घटनामा अहिलेसम्म १११ जना पक्राउ परेको एसपी अधिकारीले जानकारी दिए ।
तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरज रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा १२३ जना सुरक्षाकर्मी घाइते भएको एसपी बोहराले जानकारी दिए । तीमध्ये १०७ जना डिस्चार्ज भइसकेका छन् भने २२ जना सुरक्षाकर्मीको उपचार भइरहेको छ ।
प्रदर्शनकारीतर्फ ५१ जना घाइते भएको र १६ जना उपचाररत रहेको एसपी अधिकारीले जानकारी दिए । ३५ जना डिस्चार्ज भइसकेका छन् ।
प्रदर्शनकारीहरूले निजी तथा सरकारी गरी १८ वटा कार्यालय तोडफोड गरेको, १२ ठाउँमा आगजनी गरेको र एक ठाउँमा लुटपाटसमेत भएको एसपी बोहराले जानकारी दिए ।
त्यस्तै प्रहरीका ६ वटा गाडी, अरू सरकारी कार्यालयका ४, नखुलेका ६ गरी १६ वटा गाडीमा आगजनी र तोडफोड भएका थिए । चार मोटरसाइकल र दुई स्कुटर गरी ६ वटा दुइपांग्रे सवारी साधनमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्याएको एसपी बोहराले जानकारी दिए । यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।






