बाँके । अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ ।
समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा तीन सय जना किशोरीको दर्ता गरेर सघाउनेछ । “यसले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न सघाउनेछ ।” वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले भन्नुभयो,“पिछडिएको समुदायका किशोरीलाई मुलधारमा ल्याउनु हामी सबैको जिम्मेवारी र दायित्व हो । नेपालगन्ज म्याराथनको यो पहलकदमीको हार्दिक सराहना पनि गर्दछु ।”
नेपाली किशोरीको क्षमता र प्रतिभालाई उजागर गर्न अन्तर्राष्ट्रिय सहभागितामा समेत सघाउन आफुहरु तयार रहेको वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले बताउनु भएको छ । जोशीले संसारकै शीर्ष ६ मध्येका न्युयोर्क म्याराथन, सिकागो म्याराथन लगायत १५ बढी फुल म्याराथन पुरा गरि सक्नु भएको छ । साथै गत बर्ष विश्वविख्यात एभरेष्ट म्याराथन पनि पुरा गरेका थिए ।
एक सय बढी हाफ म्याराथन तथा दुई वटा एक सय किलोमिटर दुरीका अल्ट्रा म्याराथन पुरा गरि सक्नु भएको छ । अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै सामाजिक काम गर्दछ । सम्झौता अनुसार वन स्टेप फाउन्डेसनले नेपालगन्जका सेरोफेरोमा अवस्थित विद्यालयमा अध्ययनरत तीन सय जना किशोरीको दर्ता शुल्क नेपालगन्ज म्याराथनलाई प्रदान गर्नेछ । यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ । आपसी सहमतिमा हरेक बर्ष सहभागी संख्या क्रमिक बढाउँदै जाने पनि सम्झौतामा उल्लेख छ ।
यो सम्झौताले नेपालगन्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक टीएस ठकुरीको भनाई छ । “संसारभर रहेका नेपालीलाई यसमा जोड्न यो अवधारणा अगाडि बढाइएको हो ।” ठकुरीले भन्नुभयो,“विश्वका जुनसुकै देशमा कार्यरत हरेक सामाजिक संघसंस्था वा व्यक्तिले यसमा सहजै सहकार्य गर्न सक्नेछन् ।” धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण आगामी मंसिर ६ गते शनिबार हुँदैछ ।
नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले विश्वको शीर्ष ६ भित्र पर्ने लण्डन म्याराथनमा भाग लिइसकेका छन् । यसैगरी दशौंका विजेतालाई लण्डन लगायत अन्य विश्व प्रतिष्ठित म्याराथनमा सहभागी गराउने तयारी भइरहेको छ । सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गर्नु भएको छ ।
नेपालगन्ज म्याराथन नेपालबाट एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पहिलो पुर्णकालीन सदस्य हो । एम्सले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई नेपालका लागि आधिकारिक दुत नियुक्त गरेको छ ।






