बाँके । बाँकेको नेपालगञ्जमा आजदेखि ‘नेपाली सेना ईम्प्यानल स्कूल तेस्रो रनिङ शिल्ड प्रतियोगिता तथा सैनिक सामग्री प्रदर्शनी २०८१’ शुरु भएको छ । राँझास्थित नेपाली सेनाको बज्रदल गणको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, ईम्प्यानल स्कुल रनिङ शिल्ड प्रतियोगिता सञ्चालक समिति अन्तर्गत बाँके जिल्लाका संयोजक किशन गुरुङ र बर्दिया जिल्ला संयोजक जीवन मल्लले संयुक्त रुपमा पानसमा दियो बालेर तथा वृक्षारोपण गरेर गर्नु भएको थियो ।
बाँके र बर्दिया जिल्लास्थित नेपाली सेनासँग ईम्प्यानल गरिएका २८ वटा विद्यालयमध्ये बाँके जिल्लाबाट सात र बर्दिया जिल्लाबाट चार गरी ११ वटा विद्यालयको प्रतियोगितामा सहभागिता रहेको गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो । गणपति श्रेष्ठका अनुसार उक्त रनिङ शिल्ड प्रतियोगितामा छात्र फुटबल, छात्रा भलिबल, छात्र कबड्डी र छात्रा कबड्डी गरी चार विधामा प्रतियोगिता सञ्चालन हुनेछ । ‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलाडी’ एवम् ‘आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार’ भन्ने युक्तिलाई आत्मसात गरिएको गणपति श्रेष्ठले बताउनुभयो ।
‘यो प्रतियोगिताले ईम्प्यानल स्कुलका विद्यार्थीलाई खेलकुदद्वारा अनुशासन, टिम भावनाको विकास गर्नुका अतिरिक्त विद्यार्थीको शारीरिक र मानसिक क्षमताको अभिवृद्धि गर्नमा सहयोग गर्नेछ ।’ उहाँले भन्नुभयो,‘खेलकुदको विविध विधाबाट उत्कृष्ट प्रतिभालाई प्रोत्साहित गरी भाविष्यमा राष्ट्रिय तथा अन्र्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सक्ने खेलाडीहरु उत्पादन गर्न मार्ग कोर्ने लक्ष्यअनुरुप प्रतियोगिता आयोजना गरिएको हो ।’
कार्यक्रममा नेपाली सेनाको बज्रदल गणको तर्फबाट खुकुरी ड्रिलको प्रदर्शनी गरिएको थियो । प्रतियोगितामा सहभागी भएका विभिन्न विद्यालयहरुले मार्चपास प्रदर्शन तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा बाँकेका होप इन्टरनेशनल एकेडेमी, कोहलपुर वागेश्वरी इंगिलस मिडियम स्कुल, बागेश्वरी एकेडेमी, तक्षशिला एकेडेमी, नमुना विद्या सदन इंग्लिश मिडियम स्कुल, दिपज्योती सेकेण्डेरी स्कुल, ड्रिमल्याण्ड इङ्लिश मिडियम हाई स्कुल र बर्दियाका अरनिको इंग्लिस मिडियम स्कुल, कर्णाली इंग्लिश बोर्डिङ स्कुल, भेरी पब्लिक शिक्षालय प्रालि र पेट्रोलियम इंग्लिश मिडियम स्कूलका खेलाडि रहभागी रहेका छन् ।
सेनाले शैक्षिक कार्यक्रमको व्यवस्थापन, पहुँच र प्रभावकारिता वृद्धि गर्न इम्प्यानल्ड विद्यालयको अवधारणाअनुरुप नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका एक दम्पत्तिको सन्ततिलाई कक्षा ४ देखि १२ सम्म अध्ययन सुविधा उपलब्ध गराउन सैनिक कल्याणकारी कोषले शैक्षिकसत्र २०७६ बाट नेपाली सेनाका हिताधिकारीका सन्ततिलाई आफ्नो स्थानीय तहमा रहेका उत्कृष्ट विद्यालयबाट सहुलियत शुल्कमा अध्ययन सुविधा प्रदान गराउँदै आइरहेको छ ।
बज्रदल गणको जिम्मेवारी क्षेत्र बाँके र बर्दिया जिल्लामा अवस्थित नेपाली सेनासँग ईम्प्यानल भई सञ्चालन भइरहेका विद्यालयसँग आवश्कताअनुरुप समन्वय गरी २०७९ सालबाट विविध कार्यक्रम गर्नुका साथै रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको गणले जनाएको छ । प्रतियोगिता फागुन १२ गते समापन हुनेछ । समापनका दिनमा प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय तथा खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिनुका साथै विविध सैनिक प्रदर्शनीको समेत आयोजना गरिने बज्रदल गणले जनाएको छ ।












