बाँके । जलवायु परिवर्तनको असर पहिचानका सम्बन्धमा अनुसन्धान, रिपोटिङ्ग र न्यूनीकरणका लागि दबाब सिर्जना गर्न सञ्चारकर्मीहरूले कलम चलाउन आवश्यक रहेको बताइएको छ । एनआइआरसीले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा पछिल्लो समय जलवायु परिवर्तन भैरहेको र त्यसले विभिन्न क्षेत्रमा पुर्याएको असरका विषयमा तथ्यगत अनुसन्धान र समाचार सम्प्रेषण पनि आवश्यक रहेको भन्दै उक्त विषयमा सञ्चारकर्मीहरूले कलम चलाउन आवश्यक रहेको बताइएको हो ।
जलवायु परिवर्तन र त्यसको असर बारे विभिन्न जिल्लामा काम गरिरहेको एनआइआरसीले पत्रकारहरूलाई जानकारी गराएको थियो । पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव, हाल मिडियाले त्यसलाई दिएको महत्व र आगामी दिनमा मिडियाले वहन गर्नुपर्ने जिम्मेवारीबारे छलफल गर्दै बाँकेका पत्रकारसँग वातावरणको समग्र विषयमा हातेमालो गरेर अगाडि बढ्ने एनआइआरसीका फाउण्डर द्रोण उप्रेतीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“जलवायु परिवर्तन अहिले विश्व भरीकै गम्भिर चुनौतिको विषय बनेको छ ।” उहाँले भन्नुभयो,“यो विषयलाई नेपाली मिडियाले प्रमुख विषय बनाउन आश्यक भएको हुँदा बाँकेका पत्रकारसँग वातावरणको समग्र विषयमा हातेमालो गरेर अगाडि बढ्ने छौं ।”
कार्यक्रममा एनआइआरसीका अर्का फाउण्डर सुदिप उप्रेतिले जलवायुमा भएको परिवर्तनको नकारात्मक प्रभाव देखिइरहेको बताउनु भएको थियो । उहाँहरूले त्यस सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सञ्चारकर्मीसँग छलफल गरेको र आगामी दिनमा सुझाव अनुसार अगाडि बढ्ने जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले जलवायु परिवर्तनले असर परेको देखिएपनि त्यसको वैज्ञानिक अनुसन्धान र पुष्टि नहुँदा समाचार लेख्दा क्षति बारे मात्रै समाचार आउने र जलवायु परिवर्तन कारक रहेको पुष्टि गर्ने आधार नहुने समस्या रहेको बताएका थिए ।
‘जलवायु परिवर्तको बिस्तृत अनुसन्धान र त्यसको न्यनीकरणका लागि एजेन्डा नै बनाएर काम गर्न आवश्यक छ’, अन्तरक्रियामा सहभागी पत्रकारले भने, ‘अहिले तीन तहको सरकार रहेकाले उनीहरू वातावरणको सवालमा जिम्मेवार हुनुपर्छ ।’ औपचारिकताका लागि वातावरण सम्बन्धी नीति बनाउने तर कार्यान्वयन नगर्ने स्थिति रहेको सहभागी पत्रकारले बताएका थिए ।
बढ्दो तापक्रम, अनियमित वर्षा, हिमनदीहरू पग्लने क्रम, बाढी, पहिरो जस्ता जलवायु जन्य विपदहरूले नेपालमा कृषि, जल स्रोत, जैविक विविधता र मानव बस्तीहरूमा ठूलो असर पुर्याइरहेकोमा चिन्ता व्यक्त गरिएको कार्यक्रममा नेपालको ऊर्जा उत्पादन मुख्य रूपमा जलविद्युतमा निर्भर रहेको जसमा मौसमको परिवर्तनले प्रत्यक्ष असर गरेको बताइएको थियो ।
‘जलवायु परिवर्तनले वन्यजन्तुको वासस्थान हुन् वा कृषि उत्पादन, बेमौसमी बर्षा हुन् वा बाढीजन्य घटना, प्रभावित देखिन्छ’, कार्यक्रममा पत्रकारहरूले चिन्ता व्यक्त गर्दै भने, ‘कतिपय विकास निर्माणका काम वातावरण अनुकुल नहुँदा पनि समस्यामा परेको छ ।’ एनआइआरसीले सुरक्षाकरण सिद्धान्तको प्रयोग गरी नेपाली मिडियामा जलवायु परिवर्तन र दिगो ऊर्जाबीचको अन्तरसम्बन्धलाई अनुसन्धान गर्दै विगत चार वर्षदेखि काम गर्दै आएको छ ।






