रुपनी जि एम, बाँके । “मलाई यो कम्बलको अत्ति नै आवश्यकता थियो तर किन्नलाई पैसा थिएन । आज गाउँपालिकाले यो कम्बल दिएर मलाई ठूलो गुण लगाएको छ ।” यो भनाई हो । सहजराम कोरीको । बुधबार बाँकेको जानकी गाउँपालिकाले आज असहाय तथा अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको थियो । सोही क्रममा कम्बल लिन पुग्नु भएका जेष्ठ नागरिक सहजरामले कम्बल पाएर धेरै खुशी भएको बताउनुभयो ।
बाँकेको जानकी गाउँपालिका २ बेलभारका शारीरिक अपांगता हुनु भएका सहजराम कोरीले आउने दिनहरुमा गाउँपालिकाले यस्ता सेवा सुविधाहरु आवश्यकता अनुसार अझैं बढाइदिन आग्रह गर्नु भएको छ । “हाम्रो त अभिभावक र साहारा भनेकै स्थानीय सरकार भएको हुनाले आगामी दिनमा यस्ता खालका सेवा सुविधाहरु बढाई दियोस् भन्ने चाहाना छ ।” उहाँले भन्नुभयो ।
सोही गाउँपालिका वडा नं. ५ बेलहरीकी हसिना खाँले पनि गाउँपालिकाले उपलब्ध गराएको कम्बल पाएर आफुलाई निकै नै खुशी लागेको बताउनुभयो । “मैले दुवै आँखा देख्न सक्दिन । आफुलाई चाहिएको सामान किन्नलाई बजारसम्म जान नसक्ने मलाई मेरै पालिकाले बोलाएर कम्बल दिंदा आज म निकै नै खुशी भएकी छु ।” २९ वर्षिया हसिनाले भन्नुभयो ।
लामो समयदेखि आँखाको ज्योति गुमाउनु भएकी हसिनाले स्थानीय सरकारबाट प्राप्त गरेको कम्बलले आफ्नो आवश्यकता पुरा गरेकोमा गाउँपालिकालाई धन्यबाद समेत दिनु भएको थियो । “भोक लाग्दा भोजन र निन्द्र लाग्दा ओच्छ्यान जस्लाई आवश्यक हुन्छ र त्यो आवश्यकतालाई बुझेर जस्ले पुरा गरि दिन्छ । त्यो नै भगवान भन्दा कम हुँदैन । आज म जस्ता थुप्रै अपांगता हुनु भएका व्यक्तिहरुलाई यो जाडोमा कम्बल दिएर गाउँपालिकाले धेरै नै गुण लगाएको छ ।” उहाँले भन्नुभयो ।
हसिना जस्तै दुवै आँखाको ज्योति गुमाउनु भएको छ फुल कुमारी काँधुले पनि । सोही गाउँपालिका वडा नं. १ साईगाउँकी फुल कुमारी काँधुले गाउँपालिकाद्धारा वितरण गरिएको एकथान कम्बल पाएर आफु निकै खुशी भएको बताउनुभयो । “मैले पहिलो पटक गाउँपालिकाबाटा यस्तो खालको सहयोग पाएकी छु । यो मलाई आवश्यक पनि थियो ।” २२ वर्षिया फुल कुमारीले भन्नुभयो,“मलाई जे चाहिएको थियो त्यो आज यो पालिकाले दिएको । यो कुराले म धेरै नै खुशी भएकी छु ।”
सहजराम, हसिना र फुल कुमारीले जस्तै शारीरिक रुपमा अपांगता हुनु भएकी सोही पालिका वडा नं. १ साईगाउँकी लक्ष्मिदेवी काँधुले पनि आज सोही पालिकाले वितरण गरेको कम्बल पाउनु भएको छ । “पालिकाले एकथान कम्बल दिन्छ रे भन्ने खबर दुई दिन अघिदेखि नै सुनेको थिएँ । आज मैले कम्बल पाएँ ।” भन्दै अनुहारमा खुशी छल्क्याउँदै ४१ वर्षिया लक्ष्मिले भन्नुभयो, “मलाई त विश्वास नै लागेको थिएन । तर मैले आज कम्बल पाएँ । मलाई असाध्यै नै खुशी लागेको छ ।”
जानकी गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने असहाय, अपांगता भएका, जेष्ठ नागरिक सबैलाई सम्मान स्वरुप केही गर्नुपर्छ भन्ने उद्देश्य तथा स्थानीय सरकार घरदैलोमै छ भन्ने महसुस होस् भनेर कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक बताउनुभयो ।
उक्त पालिकाको १ देखि ६ नम्वर वडामा रहेका जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिलाई नौ थान कम्बल वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिनुभयो । जाडो मौसममा चिसोले जेष्ठ नागरिक, विपन्न वर्ग र असहाय तथा अपांगता भएका व्यक्तिहरु विरामी पर्न थालेपछि गाउँपालिकाले कम्बल वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले केही प्राविधिक कारणले कम्बल वितरण गर्न ढिला भएको बताउँदै आगामी दिनहरुमा पनि नागरिकका समस्या समाधानका लागि अन्य सेवा सुविधाहरु थप गर्दै जाने बताउनुभयो । उहाँका अुनसार भोली शुक्रबार जेष्ठ नागरिक र विपन्न वर्गलाई कम्बल वितरण गरिनेछ ।
कम्बल वितरण कार्यक्रममा अध्यक्ष खाँ, प्रमुख प्रशासकीय अधिकृत विक, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, योजना शाखाकी प्रमुख शोभा पौडेल, प्रशासन प्रमुख गोपीचन्द्र चौलागाई, पालिकाका कर्मचारी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।






