बाँके । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । आर्थिक बर्ष २०८१/ ०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
नियमित रुपमा वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गत आज वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय हिरिमिनियामा सामाजिक सुरक्षा भत्ता वितरण कार्य शुरु गरिएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । चिसोको मौसममा जेष्ठ नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गर्ने वातावरण गराएको अध्यक्ष चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीले भन्नुभयो, “बैंकमा गएर भत्ता बुझ्नका लागी यो चिसो मौसममा जेष्ठ नागरिकले अनेक सास्तिको सामना गर्नु पर्ने भएको हुनाले हामीले त्यसको विकल्पमा बैंकलाई बस्तीमै बोलाएर भत्ता वितरण गर्ने सहज वातावरण गराएको हौं ।” यस अघि गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिसकिएको र बाँकी वडामा पनि वितरण शुरु हुने अध्यक्ष चौधरीले बताउनुभयो ।
वडा सचिव शिवकुमार मौर्यका अनुसार करिब चार हजार तीन सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । उहाँले ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार छ सय ६०,
त्यसैगरी पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार नांै सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२ का दरले रकम वितरण गरिने बताउनुभयो ।






