बाँके । बाँकेमा लागेको बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा नेपालगन्जबाट काठमाण्डौका लागि हुने नियमित उडान प्रभावित भएको छ । मङ्गलबार बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलबार कुनै पनि हवाई उडान हुन सकेन भने आजपनि हवाई उडान दिउँसो एघार बजेपछि मात्रै भएको नेपाल नागरिक उडयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।
नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार छसय भिजिबिलिटी हुनुपर्नेमा मङ्गलबार पाँच सयभन्दा बढी भिजिबिलेटी नभएकाले कुनै पनि उडान हुन नसकेको प्राधिकरणका निमित्त प्रमुख बालकुमार सिंहले बताउनुभयो । “हामीले हेर्दा सोह्रसयको भिजिबिलिटी भयो भने मात्र उडानका लागि अनुमति हुन्छ । तर मंगलबार पाँचदेखि छसयको मात्र भिजिबिलिटी भएको हुनाले कुनैपनि उडान हुन सकेन ।” उहाँले भन्नुभयो ।
जहाज आउनका लागि एक हजार छसय भिजिबिलिटी आवश्यक पर्ने हुँदा त्यति नपुगेसम्म कुनै पनि जहाज नआउने टावरले जनाएको छ । प्राधिकरणका अनुसार आज भिजिबिलिटी पुरा पुगेकै कारण एघार बजेपछि मात्रै सबै नियमित उडान भएको छ । पहाडी जिल्लामा हुने उडानहरु पनि आज भएको प्राधिकरणका निमित्त प्रमुख सिंहले जानकारी दिनुभयो ।
नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलायन्सले चारओटा उडान नियमित गर्दै आएको छ भने बुद्ध एयरलायन्सले पाँचओटा बिमान नियमित गर्दै आएको प्राधिकरणले जनाएको छ । त्यसैगरी नेपालगञ्जदेखि काठमाण्डौका लागि यति एयरलायन्सले दुईवटा नियमित उडान दैनिक गर्दै आई रहेको छ । नेपालगञ्जदेखि काठमाण्डौका लागी बुद्ध, श्री र यती एरलायन्स गरी तीन ओटा एयरलायन्सले नियमित उडान गर्ने गर्दछन् ।
नेपालगञ्जदेखि कर्णाली प्रदेशको हुम्ला सिमिकोट विमानस्थल र मुगुको ताल्चा विमानस्थल त्यसैगरी सुदुर पश्चिम प्रदेशको बाजुरामा रहेको कोल्टी विमानस्थलमा पनि नियमित उडान हुँदै आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आजको सेड्युलमा पुर्ण भिजिबिलिटी भएको हुनाले रारा, बाजुरा र जुम्लामा उडान भएको छ । यो वर्ष मंगलबार पाँच सय देखि सात सयको भिजिबिलीटिका कारण हवाई उडान रोकिएको प्राधिकरणका निमित्त प्रमुख सिंहले बताउनुभयो ।
नेपालगञ्ज प्राधिकरणका अनुसार हप्ताको तीन दिन पोखरा नेपालगञ्ज हवाई उडान हुने गर्दछ । भिजिबिलिटी कम भएकै कारण मंगलबार नेपालगन्जबाट पहाडी जिल्लाहरुमा नियमित हुने गरेका उडानहरू हुन सकेको थिएन । भिजिबिलिटी कम भएकै कारण नियमित हवाई उडान नहुँदा नेपालगन्ज विमानस्थलबाट काठमाण्डौं र पहाडी जिल्लामा यात्रा गर्न टिकट लिएर बस्नुभएका यात्रुहरु समस्यामा परेका थिए ।






