बाँके । नेपालगन्जमा दोस्रो मः मः फेस्टिवल हुने भएको छ । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिको आयोजनामा नेपालगञ्ज स्थित सिद्धार्थ कटेजमा दोश्रो मः मः फेस्टिबलको आयोजना हुने भएको हो । नयाँ वर्ष २०२५ को सुरुवात सँगै दोश्रो मः मः फेस्टिवल गर्न लागिएको सिद्धार्थ कटेज नेपालगन्जका अप्रेशन म्यानेजर पदम न्यौपानेले जानकारी दिनुभयो ।
सिद्धार्थले यसअघि नेपालगन्जमा पहिलो पटक गत वर्ष २०८० माघ ११, १२ र १३ गते मः मः फेस्टिवलको आयोजना गरेको थियो । पहिलो मः मः फेस्टिभलमा ४० भन्दा बढी प्रकारका मः मः राखिएका थिए । मः मः को परिकारलाई देशभरी नै चिनाउनका लागि यो वर्ष पनि कटेज परिसरमा यही पुस २५, २६ र २७ गते दोस्रो मः मः फेस्टिवलको आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
तीन दिन सम्म चल्ने उक्त मः मः फेस्टिभलमा प्रत्येक दिन फरक फरक कलाकारको बेजोड प्रस्तुती रहने अप्रेशन म्यानेजर न्यौपानेले बताउनुभयो । फेस्टिवलको पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेल सहितको टिमले नृत्य प्रस्तुत गर्नेछ भने फेस्टिभलको दोस्रो दिन नेपालगन्जकै स्थानीय लाईभ ब्याण्ड द समय ब्याण्ड सँगसँगै मः मः मेकिङ एण्ड कुकिङको पनि प्रतिस्पर्धा गरिनेछ ।
मः मः मेकिङ एण्ड कुकिङ कम्पिटिसनको लागि निःशुल्क नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । “नाम दर्ता गर्नका लागि सिद्धार्थ कटेज नेपालगन्जको रिसेप्सनमा गएर दर्ता गर्न सकिनेछ ।” अप्रेशन म्यानेजर न्यौपानेले भन्नुभयो, “कम्पिटिसनको लागि नाम दर्तामा शुल्क लाग्ने छैन ।” मः मः फेस्टिभलको अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मा सँगै स्थानीय कलाकारको लाइभ दोहोरी र नृत्यसँगै कम्युनिटी कुकिङ कम्पिटिसन पनि रहने छ ।
पत्रकार सम्मेलनमा सिद्धार्थ होटेल नेपालगन्जका जनरल म्यानेजर बद्री कोईरालाले देशैभरी “मः मः को विभिन्न परिकारलाई परिचित गराउने उद्देश्यले यो फेस्टिवलको आयोजाना गर्न लागेका हौं ।” उहाँले भन्नुभयो, “मः मः भन्ने बित्तिकै हामीले भेज र ननभेज गरी जम्मा दुई प्रकारको भन्ने बुझेका छौं । तर मः मः धेरै प्रकारको पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा छैन । यो फेस्टिवलले मः मः को प्रकारको परिचय खुलाउने छ ।”
नेपालगन्जमै होटल सिद्धार्थ चारतारे लगजरी होटलसँगै सिद्धार्थ ग्रुप अन्तर्गत देशभरका विभिन्न स्थानमा होटेल, रिसोर्ट, रेष्टुरेन्ट, क्याफे सहित ३० वटा आउटलेटहरु सञ्चालन गर्दै आएको छ ।






