बाँके । “लाहा कुसुमको रुखमा राम्रो फस्टाउने र आम्दानी पनि राम्रो हुने भएपछि हामीले यहाँको सामूदायिक वनमा लाहा खेती विस्तार गरेका हौं ।” डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले भन्नुभयो,“यो खेतीले यहाँका वन उपभोक्ताहरु लाभान्वित हुने विश्वास छ ।”
लाहालाई सरकारी दस्तावेज सिल गर्न, हँसिया, खुर्पा जस्ता घरेलु कामका लागि प्रयोग गरिने हातहतियारको बिँडमा, गरगहना भर्न, फर्निचर कारखाना लगाएत अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ । डिभिजन वन कार्यालय कोहलपुरले वडा नं. १२ स्थित सिर्जना सामुदायिक वनमा लाहा खेती गर्न शूरु गरेको हो ।
वन अधिकृत गुप्ताका अनुसार झापाबाट दुईजना लाहा सम्बन्धि काम गर्दै आएका विज्ञको टोलीले बाँकेका सामूदायिक वन उपभोक्तालाई दुई दिनको तालिम दिएर १२ वटा रुखमा २५ किलो लाहाको बिऊ लगाईएको छ । “पुर्व झापाबाट दुईजनाको विज्ञ टोलीले यहाँका सामूदायिक वनका उपभोक्ताहरुलाई लाहा सम्बन्धि तालिम दिएर २५ किलो लाहाको बिऊ लगाएका छौं ।” उहाँले भन्नुभयो, “रूखका हाँगामा लाहा उत्पादन गर्ने लाहा किरा (भ्रुण) छाडिएको छ ।”
विगत २५ वर्षदेखि लाहा खेतीमा आफुले आर्जन गरेको ज्ञान र अनुभवलाई बाँकमा साझा गर्न आउनु भएका लाहा विज्ञ डम्मर विश्वकर्माका अनुसार कुसुमको रुख नरम हुने भएको हुनाले उक्त रुखको हाँगामा लाहाका भू्रणलाई टाँसिन सहज हुन्छ । र त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ ।
उहाँका अनुसार लाहाको कच्चा पदार्थ प्रतिकेजी एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको विश्वकर्माले बताउनुभयो । एउटा रुखबाट ५० किलोसम्म लाहा उत्पादन गर्न सकिने उहाँको भनाई थियो । लाहा तयार हुनका कम्तिमा पनि एक वर्षको समय पर्याप्त हुने भएको हुनाले वर्षमा एउटा रुखबाट ५० हजारको उत्पादन हुन्छ ।
विज्ञ विश्वकर्माका अनुसार लाहा उत्पादन भाले र पोथीको यौनक्रीडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ । पोथी लाहाले अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ । जस्लाई लाहा भनिन्छ ।
लाहा उत्पादनका लागि मनसुनी वर्षा त्यसमा पनि १५ डिग्री सेल्सियसदेखि ४०÷४५ डिग्री सेल्सियससम्म तापक्रम राम्रो मानिने विश्वकर्माले बताउनुभयो । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त रहेको उहाँको भनाई थियो । उहाँसंगै लाहाको विषयमा विज्ञको रुपमा आफ्ना अनुभव साँट्न झापादेखि लाहा विज्ञ रोहित सेन्चुरी पनि आउनुभएको थियो ।
जिल्लाका सामुदायिक वन र उपभोक्तालाई आयमूलक बनाउने उद्येश्यका साथ बाँकेमा लाहा खेती पुसको १७ र १८ गते लगाईएको शव डिभिजन वन कार्यालय शम्शेरगञ्जका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले जानकारी दिनुभयो । “यहाँका उपभोक्ताहरुको आयआर्जन वृद्धिविकासका लागि हामीले यो सहजै उत्पादन गर्न सकिने लाहा खेतीको शूरुवात गरेका हौं ।” उहाँले भन्नुयो, “यो खेती कुसुमको रुखमा राम्रो फस्ट्याउने भएको हुनाले एक हिसाबले हामीले हाम्रा सामूदियक वनमा भएको कुसुमको रुखलाई परीक्षणका लागि उपयोग पनि गरेका हौं ।”
लाहा खेती विस्तार तथा क्षमता विकासका लागि आयोजना गरिएको तालिममा सामुदायिक वन उपभोक्ता समूहका ५१ जनाको सहभागिता रहेको सब डिभिजन कार्यालय ओभरीका प्रमुख शर्माले जानकारी दिनुभयो । सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुमन पौडेलले समितिको आयस्तर सुधार गर्न लाहा खेतीले मद्दत गर्ने विश्वास लागेको बताउनुभयो । “हाम्रो वनमा रहेका बिरुवाको हाँगामा लाहा उत्पादन गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।”
लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियारलगायतमा प्रयोग गरिन्छ । सिर्जना सामुदायिक वनमा रहेका कुसुमका रुखमा लाहाको बिऊ रोपिए पनि राप्तीसोनारी गाउँपालिकामा पर्ने जलनधारा र झिजरी महिला सामुदायिक वनका उपभोक्ताहरुलाई पनि उक्त तालिममा सहभागी गराईएको थियो ।






