बाँके । आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो । नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नु भएको छ ।
लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटवल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ । फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहनेछ । महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण साबित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।
उहाँले भन्नु भयो,‘लुम्विनी कप नेपालकै प्रतिष्ठित फुटवल प्रतियोगिता हुनेछ । आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौं ।’ पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सवैलाई सहकार्यको लागि शाहले अपिल गर्नु भएको छ ।
नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुशीको कुरा भएको कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताउनुभयो । ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ ।’ उहाँले भन्नुभयो,‘देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ ।’
नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगितालाई सफलताको शुभकामना दिनुभएको छ । ‘नेपालमा महिला फुटबल शुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ ।’ उहाँले भन्नुभयो,‘सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ ।’
अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सीर्जना गर्ने बताउनुभयो । उहाँका अनुसार प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्नेछ ।






