बाँके । नेपाल–भारत जमुनाहमा निर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीद्धारा उक्त जाँच चौकी (आइसिपी) को शुभारम्भ गरेपश्चात औपचारिक रूपमा सञ्चालनमा आउने नेपालगञ्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।
करीब २ अबर ७५ करोड रकमको लागतमा निमार्ण भएको उक्त एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल–भारत बीच सम्झौता भएको १८ बर्षपछि एकीकृत जाँच चौकी औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो । एकीकृत जाँच चौकी नेपाल–भारत दुवै तर्फ निर्माण भएको छ । नेपाल तर्फ जग्गा नेपाल सरकारले छुट्याएपनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो ।
२०७५ माघ १ गते भारतका तत्कालीन केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आइसीपीको निर्माणको शिलान्यास गर्नु भएको थियो । भारततर्फ आइसीपीको शिल्यान्यास भएको दुई बर्षपछि नेपालतर्फ भूमि पुजन गरिएको थियो । एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को निर्माण २०७७ साल असोज २६ गतेदेखि सुरु भएको थियो ।
गत बर्ष जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्रीले भिडियो मार्फत आइसीपीको उद्घाटन गर्नु भएको थियो भने जमुनाहमा रहेको आइसीपीमा नेपाल–भारत दुवै तर्फबाट मालवाहक सवारीसाधनको आवतजावत गरिएको थियो । दुई देशका प्रधानमन्त्रीले आइसीपीको उद्घाटन गरेपनि औपचारिक रूपमा सञ्चालनका लागि झण्डै एक बर्ष लागेको छ ।
भारतले पूर्वाधार निर्माण सकेसँगै यसै बैशाखमा नेपाललाई आइसीपी हस्तान्तरण गरेपछि आजबाट सञ्चालनमा ल्याउन लागिएको हो । भारतले निर्माण सकेपछि संघीय आयोजना कार्यान्वयन इकाइ, बाँकेलाई हस्तान्तरण गरेपछि इकाइले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई आइसीपी हस्तान्तरण गरेको थियो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले आइसीपी सञ्चालनका लागि २०८० असार ११ मा बोलपत्र आव्हान गरेको थियो । उक्त प्रक्रियामा पछि टीआरएस एटलस लोजीपार्क प्रालिलाई आइसीपी सञ्चालनका लागि पूर्वाधार हस्तान्तरण गरिएको थियो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर जीवन ढकालका अनुसार आइसीपीका पूर्वाधारको काम सकेर सञ्चालनका लागि टीआरएसलाई जिम्मा दिइएको छ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् ।
सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ । आईसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैङ्क काउण्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ ।
माल सामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौँको संख्यामा ट्रक, ट्याङ्कर तथा कन्टेनर आवत–जावत गर्छन् । समयमा आईसिपी सञ्चालन नहुँदा अहिलेसम्म सडकमै सवारी साधन रोकेर भन्सार जाँचपास गर्नुपर्ने बाध्यता छ ।
नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आईसिपी निर्माण गरिएको हो । दुई हजार २०० मिटर लम्बाई र ६० मिटर चौडाइमा छुट्टै आईसिपीका लागि ‘एप्रोज रोड’ निर्माण गरिएको छ । सन् २००६ मा दुई देश बीच सम्झौता भएको थियो ।






