बाँके । बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा कम्युनिटी कोचिङ कोर्श सम्पन्न भएको छ । चैत ६ देखि सञ्चालन भएको एन्फा कम्युनिटी कोचिङ कोर्श शुक्रबार सम्पन्न भएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले बताउनुभयो ।
चार दिनसम्म चलेको एन्फा कम्युनिटी कोचिङ कोर्शमा सहभागी भएकाहरुलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन सिंहले प्रशिक्षण दिनुभएको थियो । एन्फाले ५ वर्ष अघिदेखि एन्फा कम्युनिटी कोर्शको सुरुवात गद्र्रै आई रहेको छ ।
प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले फुटबलको विकासमा प्रशिक्षण कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । फुटबलको विकासमा नगरपालिका सधैं सकारात्मक भएर अगाडि बढिरहेको भन्दै नगर प्रमुख विष्टले आगामी दिनमा पनि संगसँगै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । पूर्व कप्तान खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दै प्रशिक्षणलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले आगामी दिनमा फुटबलको विकासका लागि अन्य थुप्रै कार्यक्रम गर्ने तयारी रहेको जानकारी दिनुभयो । कार्यक्रममा बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले थुप्रै चुनौतिका बीच संघले फुटबल विकासका लागि काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
एन्फाका पूर्व उपाध्यक्ष गोबरधन सिंह सम्झनाले तालिम लिएका प्रशिक्षकले लगनशील भएर फुटबल प्रशिक्षण गराउँदै प्रतिभाशाली खेलाडी उत्पादनमा योगदान दिनुपर्ने बताउनुभयो ।
कोर्शमा सहभागी भएकाहरुलाई शुक्रबार एन्फा कम्युनिटी कोचिङ कोर्शमा सहभागी भएकाहरुलाई नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पूर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झना, राप्रपा नेपालका सहायक महामन्त्री तेजबिक्रम शाह, एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह लगायतले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
उक्त कोर्शमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको थियो । कोर्शमा ३२ औं ब्याचले प्रशिक्षण लिएको आयोजकले जनाएको छ ।






