बाँके । जनयुद्धकालीन आधा दर्जनबढी पुस्तकहरु माथि नेपालगन्जमा ‘नेपालगन्ज सम्वाद’ गरिएको छ । पत्रकार मनऋषि धितालद्धारा लेखिएका गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्गयात्रा र गण्डकयात्रा पुस्तक माथि बुधबार ‘नेपालगन्ज सम्वाद’ गरिएको हो ।
साहित्यकार खोपीराम ओलीले पुस्तकमा जनयुद्धकालीन समयको अवस्था परिस्थती जस्ताको तस्तै उतारिएको बताउनुभयो । उहाँले पुस्तक पढ्ने पाठक आफै जनयुद्धमा सहभागी भएको प्रत्यक्ष अनुभूती दिन सफल रहेको बताउनुभयो । पुस्तकभित्र वास्तविक अनुभूति, रोदन, कौतुहलता तथा रोदन समोवश गरिएको बताउनुभयो ।
साहित्यकार लेख प्याकुरेलले पुस्तक उपयुक्त कृति बन्न सफल भएको बताउनुभयो । उहाँले पुस्तकका पात्रहरु रहर, कहर र अवसर सबै प्रकारले जोडिएको भन्दै उक्त समयमा घटेका वास्तविक घटनाहरुलाई यर्थाथपरक ढङ्गबाट प्रस्तुत गरिएको बताउनुभयो । ‘जनयुद्धकालीन विवाहमा एउटा कापी, कलम र किताब उपहार दिएर दिईन्थ्यो ।’ उहाँले भन्नुभयो,‘अहिलेका विवाहहरुमा गरिने भड्किलो खर्च कटौती गरी सोही अनुसार गर्नका लागि पनि किताब शिक्षाप्रद हुनेछ ।’
वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पीटरले पुस्तक अणु तथा परमाणु भएको बताउनुभयो । उहाँले पुस्तकमा युद्धनीतिक, राजनीतिक तथा दार्शनिकरुपमा इतिहास बोलेको बताउनुभयो । पुस्तक जनयुद्धको ऐतिहासिक दस्तावेज भएको भन्दै पीटरले माओवादीले बिर्सदै गएको जनयुद्धलाई पुस्तकले सम्झाएको बताउनुभयो ।
पत्रकार शंकर खनालले पुस्तकले इतिहास जोगाउन सफल रहेको बताउनुभयो । उहाँले दसकौं अगाडीको जनयुद्धलाई अहिलेका पुस्ताले ताजा रुपले बुझ्न पाएको धारणा राख्नुभयो । पत्रकार तुला अधिकारीले किताबको विश्लेषण गर्दै तत्कालीन जेलभित्रका घटनाहरु अहिलेका पाठकहरुले जेलको अनुहार दुरुस्तै देख्न सक्ने बताउनुभयो ।
राजनीतिकर्मी दुर्गाबहादुर थारुले यी पुस्तकहरु पढ्दा आफूलाई पनि विगत सम्झना आएको र लेख्नका लागि प्रोत्साहन तथा उत्प्रेरणा मिलेको बताउनुभयो । उहाँले पुस्तक प्रेरणादायी, शिक्षाप्रद तथा जिउँदो इतिहास भएको बताउनुभयो । पुस्तक पढ्दा पढ्दै सहिदलाई लेखिएको मार्मिक चिठीमा आँखा जाँदा आँसु आएर पुरै पढ्नै नसकिएको अनुभव सुनाउँदै थारुले जनयुद्धकालीन अवस्था ताजा भएर आएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजङ्ग गहतराज ‘अथक’ले जनयुद्धका बलमा देसमा राजनीतिक परिवर्तन आएको बताउनुभयो । समावेशीता, धर्म निरेपक्षता, संघीयता, समानुपातिक लगायतका व्यवस्थाहरु जनयुद्धका कारण आएको भन्दै १० बर्षे जनयुद्धलाई अहिलेका पुस्ताले पुस्तकमार्फत् जस्ताको तस्तै अनुभूती गर्न सक्ने बताउनुभयो ।
पुस्तकका लेखक पत्रकार मनऋषि धितालले आफू केवल जनयुद्धका अनुभूती बाँड्ने हुलाकी भएको बताउनुभयो । पुस्तकहरु कल्पना नगरि वास्तविक रुपले तथ्यका आधारमा लेखिएको भन्दै धितालले कतिपय पुस्तकका पात्रहरुसँग पुनर्मिलन समेत भएको स्मरण गर्नुभयो । कतिपय घटनाहरुमा पुनर्मिलन भएका पात्रहरुसँग अनुमति लिएर पुस्तकमा समावेश गरिएको बताउनुभयो ।






