बाँके । नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिहीबारबाट सुरु भएको छ । उक्त गोष्ठीको उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको छ । नेपाल सरकार, गृह मन्त्रालयले उक्त गोष्ठी आयोजना गरेको हो ।
गृहमन्त्री श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिंगो प्रणाली सकारात्मक हुन जरुरी रहेको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजा मूलक कार्यढाँचा बनाउन निर्देशक दिनुभयो । उहाँले भन्नुभयो,‘ऋण लिएर ऋण तिर्दैनौं भन्दै अवाञ्चित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने, समाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भावमा खलल पुर्याउने र समाजमा बिग्रह ल्याउनेप्रति कानून सम्वत काम गर्न रत्तिपनि नहिचकिचाउनु ।’
गोष्ठी उद्घाटन शत्रमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआईजी) कुवेर कडायत, लुम्बिनीका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख लगायत सहभागी भएका छन् ।










