बाँके । शुक्रबारदेखि शुरू भएको ‘टुर द ठाकुरद्वारा’ सम्पन्न भएको छ । नेपालगञ्ज साईकिलिङ क्लबको आयोजनामा बाँके र बर्दियामा पर्यटन प्रबर्धनका लागि आयोजित छैटौं संस्करण बि वाई डि ‘टुर द ठाकुरद्वारा’ शनिबार बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको हो ।
उक्त साइकल यात्रामा ठाकुरबाबा नगरपालिकाका उप ( प्रमुख बिना भट्टराईले देशै भरिका साईकल यात्री बर्दियामा आउँदा यस्ले यहाँको पर्यटन प्रवर्द्धनसँगै आर्थिक क्षेत्रमा पनि ठूलो टेवा पुर्याएको बताउनुभयो ।
विश्व साईकल यात्री अजित बरालले शरीरलाई स्वास्थ्य राख्न साईकल चलाउन सुझाब दिनुभयो । उहाँका अनुसार साइकलले शरिरसंगै वातावरणलाई समेत स्वच्छ राख्ने हुँदा अरुलाई पनि साईकल चलाउन आग्रह गर्नुभयो ।
सोही क्रममा भारतीय साईकल यात्री डा अनिकेत राए नेपालमा साईकीलिङ गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले उक्त साईकल यात्राले नेपाललाई मात्र नभई विश्वलाई नै परिवर्तन गर्न सक्ने बताउँदै साईकल यात्रालाई निरन्तरता दिन सुझाब दिनुभयो ।
कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बाँकेदेखि बर्दियाको ठाकुरद्वारासम्मको उक्त साईकल यात्रा १ सय ४ किलोमिटर लामो दूरीको रहेको थियो ।साइकलयात्राका सहभागीहरु बाँकेको कोहलपुर हुँदै बर्दियाको केदारेश्वर धामदेखि सत्खलुवाको हुलाकी मार्ग हुँदै ठाकुरद्वारा पुग्नुभएको थियो ।
साईकल यात्रामा सहभागी हुने साइकल यात्रीहरु मार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाले साईकलको यस्ता खाले कार्यक्रमले देशै भरिका साईकल यात्रीको सम्बन्धलाई बाँधेको बताउनुभयो ।
उहाँका अनुसार दुई दिने ‘टुर द ठाकुरद्वाराु कार्यक्रम व्यवस्थापनका लागि २६ लाख खर्च भएको छ । उक्त साईकल यात्रामा भारतसँगै झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङ लगायत देशका ठूला शहरबाट दुई सय भन्दा बढी साईकल यात्रीहरुको सहभागीता रहेको थियो ।
७ वर्षका बालक देखि ७० वर्ष उमेर समूहका साईकल यात्रीले ‘टुर द ठाकुरद्वारा’ मा सहभागिता जनाएका थिए । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले बिगत ६ बर्षदेखी टुर द ठाकुरद्धारा आयोजना हुँदै आएको छ ।






