बाँके । नेपाल युवा परिषद् र होमस्टे महासंघ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । होमस्टे विकासका लागि बुधबार नेपाल युवा परिषद्को तर्फबाट महासचिव रचना खरेल र होमस्टे महासंघ नेपालको तर्फबाट सचिव गंगादेवी हायजुले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।
युवाहरूलाई होमस्टे व्यवसायमा आकर्षित गर्नका लागि ७ बुँदाको समझदारीपत्रमा दुवै संस्थाद्धारा हस्ताक्षर गरिएको होमस्टे महासंघका महासचिव कृष्ण चौधरीले जानकारी दिनुभयो । उक्त हस्ताक्षरपत्रमा युवाहरू माझ होमस्टेको कसरी प्रचारप्रसार गर्ने, स्थानीय तथा रैथाने खानेकुराहरूको संरक्षण कसरी गर्ने तथा प्रवद्र्धनमा युवाहरूलाई कसरी बढीभन्दा बढी सहभागी गराउने भन्ने जस्ता कुरा समावेश गरिएको महासचिव चौधरीले बताउनुभयो ।
परम्परागत ज्ञान र सीपमा आधारित कला संस्कृति तथा प्रविधिहरूको खोज तथा अनुसन्धान गरी अभिलेखीकरण गर्ने उल्लेख गरिएको नेपाल युवा परिषद्का महासचिव रचना खरेलले बताउनुभयो । महासचिव खरेलले यसले युवाहरूमा थप नयाँ ज्ञान तथा सीप हस्तान्तरण हुने र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त व्यक्त गर्नुभयो ।
महासंघका सल्लाहकार एवं पर्यटन बोर्डका पूर्वसदस्य कृष्णकुमार अर्यालले यो सम्झौताले आगामी दिनमा पर्यटन तथा रैथाने खाना संरक्षणमा निकै ठूलो योगदान पुग्ने बताउनुभयो । नेपाल युवा परिषद्ले तिहार र छठ पर्वपछि सातवटै प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ । यस सम्मेलनमा होमस्टे महासंघको समेत ऐक्यबद्धता रहेको छ जहाँ हरेक प्रदेशमा २ सय २० जना युवाको सहभागिता रहनेछ ।
सम्झौतापत्रमा तीनै तहका सरकारहरूसँग नेपाली युवाहरूको क्षमता तथा दक्षता विकास र उद्यमशीलता विकासका लागि संयुक्त रूपमा पहल गर्ने उल्लेख गरिएको छ । असोज २५ देखि २७ सम्म चितवनको माडीमा होमस्टे महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट पारित घोषणापत्रमा समेत होमस्टेमार्फत रैथाने कृषि, कला सीप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्गलगायत सबैलाई संलग्न गराउँदै गाउँगाउँमा रोजगार सिर्जना गर्न पहल गर्नेजस्ता १२ बुदाँ समेटी माडी घोषणापत्र जारी गरिएको थियो ।






