बाँके । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि आज भिड्ने भएका छन् । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा हुने त्रिभुवन आर्मी र चर्च व्वाईज क्लव आज बुधबार प्रतियोगिताको लागि भिड्ने भएका हुन् । दुवै टिमका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफुले जानेको अनुभव र सिपको प्रयोग गरी उपाधि हात पर्ने दावी गरेका हुन् ।
त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताउनुभयो । आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानिय खेलाडीहरु भएकोले उपाधि हात पार्नेमा खवास ढुक्क हुनुहुन्छ ।
त्रिभुवन आर्मीका कोच आदर्श मल्ले पनि आफ्नो पहिचान नभुल्ने बताउनु भएको छ । ‘खेलमा रफ हुँदैन,’ उनले भने, ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ मल्लले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिनु भएको छ ।
यस्तै चर्च व्वाईजका कप्तान विकु राई पनि उपाधि लिनेमा ढुक्क हुनुहुन्छ । चर्च व्वाईज कै कोच रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भने आएको होइन तर भाग्यले दिएसम्म आफ्नो टिमले फाइनलसम्म पु¥याउनु नै ठुलो उपलब्धि रहेको बताउनुभयो । ‘अहिले सबै स्थानिय खेलाडीहरु छन् । बाहिरी खेलाडीहरु छैनन् ।’ राईले भन्नुभयो ।
प्रतियोगिता सुरु भएको पाँचौ दिनको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई ४—१ गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो । तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई ३—० ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभयो । खेल संयोजक मल्लका अनुसार किक अफ आज दिउँसा २ः ३० बजे हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो ।






