रुपनी जि एम, बाँके । ‘मलाई बहीनीले दिदी बचाउनुस् भनिरहीन् । म आफैं भूकम्पमा पुरीएको थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै सक्दिनथें । म हलचल गर्न पनि सक्दिनथें । मैले टुलुटुलु हेर्नु बाहेक केही गर्न सकिन । मैले उनलाई बचाउन सकिन । बहीनीलाई मैले मेरै कारणले गुमाएँ ।’ भन्दै चित्कारिएको आवाजले मंगलबार भेरी अस्पतालको वार्डमा स्तब्ध बनायो ।
आफ्नो साथी जस्तै बहीनी गुमाएको पीडामा होस फर्किएदेखि छटपटाउने गर्नुहुन्छ जाजरकोट भेरी नगरपालिका १ की जुनी विष्ट । शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दुु पारेर गएको भूकम्पमा जुनीले बहीनी मात्रै गुमाउनुु भएन आफै पनि घाईते बन्नु भएको छ ।
देब्रे हातको नशामा बढी चोट लागेर उहाँको देब्रे हात अहिले पनि चल्दैन । खुट्टा उपचार भएको चौथो दिनदेखि बिस्तारै चल्न शुरु गरेको छ तर हिंड्डुल गर्न सक्नु हुन्न । उहाँलाई अहिले पनि वेडबाट झर्न र चर्नका लागि साहारा दिनु परेको छ । सुतेकै वेडमा फर्कन समेत नसक्नु भएकी जुनीलाई बहीनीको शोकले झन थलाउँदै लगेको छ ।
उमेरले भर्खरै १७ वर्ष लाग्नु भएकी जुनीले साँच्चै फेरी अर्को जुनी त पाउनुभयो तर उहाँलाई बहीनी बचाउन नसकेकोमा आत्माग्लानी भईरहेको छ । भेरी अस्पतालमा शनिबारदेखि उपचाररत जुनीले ‘बहीनी बचाउन सकिन’ भन्दै डाको छोडेर रोइरहनुहुन्छ ।
भेरी अस्पतालमा कार्यरत मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनी उहाँको रेखदेखमा आउनु भएको आफन्तसँग पनि बोल्नु हुँदैन । दिनभरी कि सलले मुख छोपेर सुत्नुहुन्छ कि त बहीनी बचाउन नसकेको गुनासो आफैसँग गर्दै भक्कानिएर रुनुहुन्छ ।
‘जुनीलाई शारीरिक चोट त लागेको छ नै तर त्योभन्दा बढी चोट उहाँलाई आफ्नो साथी जस्तै बहीनी आफ्नै आँखा अगाडी गुमाउनु पर्दा मानसिक चोट धेरै नै लागेको छ ।’ मनोसामाजिक परामर्शकर्ता डाँगीले भन्नुभयो । उहाँका अनुसार जुनीलाई भूकम्प केवल आफ्नो घरमा मात्र आएको र भूकम्पमा आफ्नो बहीनी मात्रै पुरिएको भन्ने लागेको छ ।
‘जुनी यो अस्पतालमा भर्ना भएदेखि मैले आजको दिनसम्म तीन चरणमा उहाँसँग कुरा गरीसकेकी छु । पहिलो र दोश्रो चरणमा त उहाँ मसँग खासै बोल्नु भएन । हाम्रो कुराकानीको शुरुवाती केवल सामान्य चिनाजानमै केन्द्रित रह्यो ।’
मनोसामाजिक परामर्शकर्ता डाँगीले भन्नुहुन्छ,‘कुराकानी गर्न लागेको आज तेश्रो दिनमा मात्रै उहाँले मसँग मनमा गुम्सिएका पीडालाई भक्कानिंदै खोल्नुभयो । उहाँलाई पीडा आफुलाई लागेको चोटको भन्दापनि आफुले धेरै माया गरेर सँगै हुर्किएको बहीनीलाई गुमाएकोमा लागेको रहेछ ।’
भूकम्प जानु अघि शुक्रबार रातीसँगै खाना खाएर दुई बहिनी एउटै ओच्छ्यानमा भुँईतलामा सुत्दै गर्दा शनिबार गाउँमा लागेको मेला हेर्न जाने र मेला हेर्न जाँदा दिदीको नयाँ कुर्ता सुरुवाल लगाउने बहीनीको चाहाना अधुरै रहेको भन्दै जुनी अस्पतालको बेडमा भक्कानिने गरेको मनोसामाजिक परामर्शकर्ता डाँगीले बताउनुभयो,‘जुनी नबोल्दा कसैसँग पनि बोल्नुहुन्न । उहाँलाई जति नै बोलाएपनि केही जवाफ दिनुहुन्न । तर आफ्नै सुुरमा एकोहोरो बहिनीलाई सम्झिएर डाको छोडेर रुनुहुन्छ ।’
डाँगी भन्नुहुन्छ,‘जुनीको शरीरमा लागेको शारीरिक चोटलाई त औषधीले चाँडै नै निको बनाउँछ । तर उहाँलाई शारीरिक चोटभन्दा पनि मनोसामाजिक समस्या बढी देखिएको छ । यो समास्याबाट बाहीर निकाल्न अत्ति नै संवेदनशील भएर उहाँसंग कुरा गर्नु पर्ने हुन्छ ।’
परामर्शको चारदिन पछि कमला डाँगीसँग मात्रै मनमका कुरा बताउने जुनीको बुवा रोजगारीको शिलशिलामा विदेश गएको र आमा र भाईलाई सामान्य चोट लागेको बताउनुभयो । यस्का साथै आफुले पनि स्टाफ नर्सको पीसिएलमा नाम निकालेको बताउनुभयो ।
मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनीले बहीनी गुमाएको शोकमा खाना, पानी, औषधी लगाएत केही पनि खाने कुरा नखाईदिने भएकाले उहाँको शारीरिक चोटलाई निको हुन समय लागेको छ । जुनीको मनमा र मस्तिष्कमा लागेको चोटलाई निको पार्न उहाँलाई काउन्सि नै उत्तम उपाय रहेको कमलाले बताउनुभयो ।
भेरी अस्पतालमा अहिले ४९ जनाको उपचार भई रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाईते भएका बिरामीहरु ५३ जनालाई ल्याईएको थियो ।
३ जना निको भई घर फर्कनु भएको छ भने एकजनाको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र सोधारोन्मुख हुँदै गईरहेको छ ।







