बाँके । ‘बिहान स्कूल जानको लागि घरको काम सक्न भ्याई नभ्याई हुन्छ । जसोतसो घरको सबै काम सकेर स्कूल आई रहेकी छु ।’ कोहलपुर नगरपालिका ५ एनसीसीएनकी ६१ वर्षिय प्रेम कुमारी गिरीले आफ्ना नातिनातिना बराबरका उमेर भएका अन्य विद्यार्थीको बीचमा बसेर स्कूल जानका लागि तयार हुँदाका कथा मुस्कुराउँदै सुनाउनुभयो ।
बाँकेको कोहलपुर स्थित श्री ज्ञान ज्योति माध्यामिक विद्यालय वगियामा कक्षा ६ मा पढ्दै गर्नु भएकी प्रेम कुमारी यतिबेला अधुरो पढाईलाई पुरा गर्न पाउँदा निकै नै खुशी हुनुहुन्छ । प्रेरणाको श्रोतका रुपमा चिनिनुभएकी प्रेम कुमारीको १३ वर्षको उमेरमा विबाह भएको थियो । विबाह पश्चात पारिवारीक बन्धनमा बाँधिनुभएकी प्रेम कुमारीले १६ वर्षकै उमेरमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्माउनुभयो ।
सन्तानको मोहले पढ्न नपाएको पीडालाई मनमै भुलाई दियो । समय बित्दै गयो । प्रेम कुमारी पनि ६ सन्तानको आमा बन्नुभयो । एउटा छोरा र पाँच वटी छोरीलाई हुर्काउँदैमा प्रेम कुमारीको पढ्ने रुची मात्रै मरेन उमेर पनि ढल्कँदै गयो । सानैमा अधुरो भएको पढाईलाई उहाँले घरपरिवार र सन्तान प्रतिको जिम्मेवारीकै कारण पुरा गर्न सक्नु भएन ।
‘बिवाह भएपछि पनि मैले पढ्छु भनेर धेरै पटक कोशिश गरें तर घरमा त्यो वातावरण नै भएन । श्रीमानको माया, परिवारको साथ, सन्तानको सुख सबै पाएँ तर पढ्न नपाएको विषयमा दुखेको मनलाई निको बनाउने मलहम भने उमेर छँदै कहिल्यै पाईन ।’ उहाँले भन्नुभयो,‘भगवानले भन्नु हुन्छ तँ आँट म पुयाउँछु । आज मलाई त्यस्तै भएको छ । मैले आँटे मेरा भगवानले मलाई यो स्कूलसम्मको बाटो देखाईदिनुभयो ।’
पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ प्रेम कुमारी । आकाशे रंगको कुर्तामा गाढा निलो रंगको डुपट्टा र सुरुवाल लगाएर हात भरी कपी किताब बोक्दै प्रेम कुमारी नियमति स्कूल जाने गर्नुहुन्छ । सानैमा कक्षा ३ सम्म पढेर बीचैमा पढाई छाड्नु भएकी प्रेम कुमारीलाई कक्षा ६ मा भर्ना हुँदा सामान्य रुपमा लिखित र मौखिक परीक्षा लिईएको उहाँले बताउनुभयो ।
‘३ कक्षा पास म पहिला नै थिएँ । मेरो पढ्ने ईच्छा देखेर पनि होला मलाई स्कूलका प्रध्यापकले कक्षा पाँचमा भर्ना गरीदिनुभयो ।’ उहाँले भन्नुभयो,‘कक्षा पाँचमा भर्ना हुँदा भर्खरै स्कूल पढ्ने उमेरको भएकी छु भन्ने लागेको थियो ।’ आफ्नी श्रीमतीलाई यो उमेरमा पनि पढ्न मन लागि रहेको छ भन्ने थाहा पाउनुु भएका श्रीमान श्रीमान जनक बहादुर रावतले पढ्नका लागि अनुमति दिएकै कारण आज प्रेम कुमारी नियमित स्कूल जान पाईरहनु भएको छ ।
‘स्कूल गएर पढ्छु भन्दा शुरुमा त जिस्किएको होला भन्न ठान्नु भएको रहेछ उहाँले, तर मैले साँच्चै नै म स्कूल गएर पढ्न चाहान्छु भन्दा उहाँले पढ्ने ईच्छा नै भएको हो भने बीचैमा पढाई छोड्न पाउँदिनौं नि भनेर पढ्नलाई अनुमति दिनुभयो ।’ खुशीको आँशु छछल्क्याउँदै प्रेम कुमारीले श्रीमानले पढ्नलाई अनुमति दिएको कुरा सुनाउनुभयो ।
प्रेम कुमारीको भनाई अनुसार श्रीमान जनक बहादुरको दिनचर्या हिजोआज श्रीमतीलाई स्कूल जान ढिला हुुन्छ कि भनेर घडी हेर्ने र बेलुका घर फर्कने समय कुर्दैमा बित्ने गर्दछ । ‘बुढेसकालमै भएपनि श्रीमानले स्कूल जाने समय सम्झाउनुहुन्छ । अनि म स्कूलबाट घर कति बेला आउँछु भनेर कुरी बस्नुहुन्छ ।’ उहाँले भन्नुभयो,‘बुढेसकालमै भएपनि श्रीमानले मेरो पढाईका लागि दिनुभएको ऊर्जा र सहयोग प्रति म निकै नै खुशी छु ।’ प्रेम कुमारीलाई आँखाले साथ दिंदासम्म पढ्ने रहर छ ।
प्रेम कुमारी जस्तै सोही कक्षामा पढ्नु हुन्छ हरिकला नेपाली पनि । उहाँले उमेरले ३६ वर्षको हुनुभएको छ । एक छोरीकी आमा हरिकालालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कूलमा गएर पढ्न अप्ठ्यारो बनाईरहेको बताउनुभयो । उहाँका अनुसार प्रेम कुमारी गिरीलाई स्कूलको लुगा लगाएर किताब बोक्दै हिंडेको कुराले पढ्नका लागि उहाँललाई हौसला दिएको बताउनुभयो ।
प्रेम कुमारी जस्तै सोही कक्षामा पढ्नु हुन्छ हरिकला नेपाली पनि । उहाँले उमेरले ३६ वर्षको हुनुभएको छ । एक सन्तानकी आमा हरिकालालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कूलमा गएर पढ्न अप्ठ्यारो बनाईरहेको बताउनुभयो । उहाँका अनुसार प्रेम कुमारी गिरीलाई स्कूलको लुगा लगाएर किताब बोक्दै हिंडेको कुराले पढ्नका लागि उहाँललाई हौसला दिएको बताउनुभयो ।
‘पढ्ने एकदमै रहर थियो तर ३६ वर्षकी भई सकेकी थिएँ । स्कूल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेम कुमारी दिदीलाई किताब बोकेर स्कूल जानेआउने गरेको देखें । उहाँलाई देखेर नै मलाई पनि स्कूलमा आएर पढ्ने हिम्मत मिलेको हो ।’ हरिकलाले भन्नुभयो,‘छुटेको पढाईलाई फेरी पुरा गर्न पाएकोमा निकै खुशी लागेको छ । कुनैपनि हालतमा एईई पास गर्नु छ ।’ हरिकलालाई वैदेशिक रोजगारमा रहनुभएका श्रीमान नथु गुरुंगले पनि पढ्नलाई साथ दिएको उहाँले बताउनुभयो ।
पढ्ने रहर मनमा हुँदाहुँदैपनि आफ्नो उमेर समूहको महिलाहरु पढ्ने स्कूलको खोजीमा रहनुभएकी हरिकालालाई घर नजिकै स्कूलमा आफुभन्दा पनि बढी उमेर भएका साथीहरुसँगै पढ्न पाएकोमा उहाँलाई अहिले लाज हराएको बताउनुभयो । हरिकलाले आफ्नो प्रेरणाको श्रोतको रुपमा प्रेम कुमारी गिरी र खगीसरा खाँडलाई मान्नुहुन्छ । आफुभन्दा उमेरमा दोब्बर भएपनि एउटै उमेर समूह जस्तै लाग्छ हरिकलालाई सहपाठी द्धए प्रेम कुमारी गिरी र खगिसरा खाँड ।
ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । ती ७७ जना विद्यार्थी मध्यका आमा विद्यार्थीहरु हुन् प्रेम कुमारी गिरी, हरिकला नेपाली र खगिसरा खाँड । विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बिरामी हुँदा बाहेक नियमित रुपमा उहाँहरु स्कूल आउने बताउनुभयो । ‘कहिलेकाहीँ बिरामी हुँदा मात्रै उहाँहरु आउनुहुन्न, अरू बेला कक्षामा उहाँहरु नियमित रुपमा उपस्थित हुनुहुन्छ ।’
प्रधानाध्यापक ढकालले भन्नुभयो,‘पढ्ने ईच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन । लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहेपनि पास गर्न सक्नुहुन्छ भन्ने लागेर नै केही प्रश्नोत्तर लिएर उहाँहरुलाई भर्ना गरेका हौं ।’ प्रधानाध्यापक ढकालका अनुसार उक्त विद्यालयमा पाँच सय ६८ विद्यार्थी रहेकाछन् ।






